भारतले सीमाना मिचेको विरोध गर्न निस्केका विप्लव नेता पक्राउ
काठमाडौँ । भारतले नेपाली भूभाग हडपेर सार्वजनिक गरेको नयाँ नक्शाको विरोध जनाउने क्रममा विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतले सीमाना मिचेको विरोधमा भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका बेला विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य मकर गुरूङ र अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीका कँडेललाई प्रहरीले पक्राउ गरेको हो ।
काडमाडौँको घण्टाघरबाट दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो । विप्लव निकट जनवर्गीय संगठनहरूले र्यालीसहित आज भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने तयारी गरेको थियो । तर, प्रहरीले र्याली अगाडि नै धरपकड गरेको हो ।
विप्लव नेतृत्वको पार्टीले भारतले नेपाली भूमि मिचेको विरोधमा भारतीय दूतावासलाई ज्ञापन पत्र बुझाउनेसहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।