नेपाली भूमि फिर्ताका लागि तत्कालै कूटनीतिक पहल गर्न कोइरालाको माग
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अतिक्रमणमा परेको नेपाली भूमि फिर्ताका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।
नेपाली भूमिमा बाह्य अतिक्रमण कोही पनि नेपालीलाई स्वीकार्य हुनै नसक्ने र यस्तो विषयमा सम्झौता गर्न नहुने कोइरालाको भनाइ छ ।
आइतवार एक वक्तव्य प्रकाशित गरी कोइरालाले राष्ट्रियताको मुद्दामा देखिएको राष्ट्रिय सहमति अनुरूप गुमेको भूमि फिर्ता गर्न तत्कालै कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका हुन् ।
‘नेपालको सार्वभौमसत्ता,भौगोलिक अखण्डता, राष्ट्रियता र लोकतन्त्रसँग नेपाली कांग्रेसले कोहीकसैसँग सम्झौता नगरेको सबैमा सर्वविदितै छ,’ कोइरालाले वक्तव्यमा भनेका छन्, ‘नेपाली भूमिमा बाह्य अतिक्रमण कोही पनि नेपालीलाई स्वीकार्य हुनै सक्दैन र यस्तो विषयमा सम्झौता हुँदैन ।’
शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा कांग्रेस नेताहरूले तत्काल कूटनीतिक पहल गरेर जमिन फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
‘जहाँबाट जस्ले नेपाली भूमि अतिक्रमण गरेपनि सह्य हुन सक्दैन । राष्ट्रियताको मुद्दामा देखिएको राष्ट्रिय सहमति अनुरूप गुमेको भूमि फिर्ता गर्न तत्कालै कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु,’ डा। कोइरालाले भनेका छन् ।