भक्तपुरमा नेकपाको निर्वाचन परिचालनमा जीत हुनेसुनिश्चित रहेको कमिटी गठनको दाबी

निरन्तर न्यूज
१७ कार्तिक २०७६, आईतवार १५:०४

भक्तपुर। नेपाल कम्युनिस्ट पार्टी ९(नेकपा)प्रदेश नम्बर ३ की इन्चार्ज एवं पार्टी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भक्तपुरमा नेकपाले जनताको मन जित्न सफल भएकाले फेरि पनि नेकपाको नै जीत सुनिश्चित रहेको बताएकी छन् ।

नेकपा भक्तपुरले कमलविनायकमा आयोजना गरेको निर्वाचन परिचालन कमिटी गठन कार्यक्रममा बोल्दै उनले पार्टीका इमान्दार नेता हरिशरण लामिछानेको निधन भएपनि उनको योगदान, त्याग र निष्ठाको राजनीति जीवितै रहेकाले नेकपाको जीत सुनिश्चित रहेको बताइन् ।

नेत्री शाक्यले पार्टीले जो सुकै व्यक्तिलाई टिकट दिएपनि व्यक्तिभन्दा पार्टी ठूलो भएकाले उम्मेदवारको विषयमा नअल्झी एकताबद्ध भएर चुनावी अभियानमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आग्रह गरिन् । प्रत्येक मतदातासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भक्तपुरमा यसपटक पनि चुनाव जित्नेमा पार्टी ढुक्क भएको बताए ।

कार्यक्रममा सांसद महेश बस्नेतले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाको उम्मेदवार विजयी हुनेमा दुईमत नरहेको बताउँदै विपक्षीको गलत चलखेललाई निस्तेज पारेर नेकपा अगाडि बढ्ने बताए । उनले सरकारले गरेका राम्रा कामबारे प्रचार गर्न नसक्दा विरोधीले जनतामा भ्रम फैलाउन खोजेको बताउँदै जनतालाई सरकारले गरेका जनमुखी कामबारे जानकारी दिँदै अगाडि बढ्ने बताए ।

कार्यक्रममा प्रदेश नम्बर ३ का पार्टी सहइन्चार्ज लगायतका पदाधिकारी, भक्तपुर जिल्ला कमिटीका इन्चार्ज दिलीप प्रजापति, सहइन्चार्ज सोम मिश्र, भक्तपुरबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा सांसद, भक्तपुरमा रहेका नेकपा प्रदेश नम्बर ३ का सदस्य, नेकपाबाट जिल्लामा निर्वाचित जनप्रतिनिधिको उपस्थितिमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

कार्यक्रमका सभापति एवं नेकपा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको जानकारी दिए । चुनाव प्रचार समिति, व्यवस्थापन समिति, आर्थिक समिति, युवा समिति, मञ्च व्यवस्थापन समिति, र्‍याली व्यवस्थापन समितिलगायत विभिन्न समिति गठन गरिएको छ ।

पार्टीले उम्मेदवारका लागि रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डीपी ढकाल र नारायणी फुँयालको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ । श्रोत लोकान्तर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*