आईसीयुमा समेत सुरक्षाकर्मी तैनाथ भएपछि ग्रान्डी अस्पताल र चिकित्सक रुष्ट

निरन्तर न्यूज
१५ कार्तिक २०७६, शुक्रबार ०६:१९

काठमाडौँ। झण्डै ३६ घण्टाको अस्पताल बसाईपछि प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्, बिहीबार साँझ ८  बजे ।

तर, उनको उपचारका क्रममा अस्पतालको सामान्य नियम र मर्यादा विपरित आईसीयुमा समेत सुरक्षाकर्मी तैनाथ गरिएपछि अस्पताल प्रशासन र उपाचारमा संलग्न चिकित्सकले असन्तुष्टी जनाएका छन्।

त्यस्तै ओलीको स्वास्थ्य अवस्था र उनको डायलासिस भएको विषय लुकाउन बाध्य हुनु परेको विषयलाई लिएर उनीहरु अचम्मित समेत भएका छन्।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य सुचांकहरु निकै घटबढ हुन थालेपछि उनलाई बुधबार बिहान ९ बजे राजधानीको ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो, उनको उपचार र रिपोर्टबारे सूचना गोप्य राख्ने सर्तमा।

ओलीलाई अस्पताल भर्ना गर्नासाथ परीक्षण गरिएको रगत नमूना लगायतका रिपोर्टका आधारमा डायलासिस गर्नु पर्ने निचोडमा चिकित्सक पुगेका थिए, तत्कालै।

बिरामीलाई सामान्य बेडमा राखेर पनि डायलासिस गर्न सकिन्छ । तर मुलुककै महत्वपूर्ण पदमा आसिन व्यक्तिको उपचारमा कुनै पनि समस्या नआओस भनेर ओलीलाई क्याबिनबाट आईसीयुमा सारेर डायलासिस गर्ने क्रममा चिकित्सकलाई सुरक्षाकर्मीले पछ्याउन थालेपछि उनीहरु रुष्ट भएका थिए।

सामान्यतया आईसीयुमा बिरामी, चिकित्सक र नर्सिङ स्टाफ बाहेक अरुलाई अनुमति बिना छिर्न निषेध गरिन्छ। बिरामी भेट्न एक पटकमा एक जनालाई मात्रै आईसीयुमा पठाईन्छ ।

तर प्रधानमन्त्री ओलीसँगै सुरक्षाकर्मी पनि धमाधम भित्र छिर्नुलाई चिकित्सकहरुले आफूहरुको काममाथि विश्वास नभएको अर्थ लगाउँदै भन्दै असन्तुष्ट व्यक्त गरेका थिए।

ओलीको उपचारका लागि निरन्तर उनकी निजी चिकित्सक डा। दिव्या सिंह शाह, अस्पतालका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डे लगायत ८ जना विशेषज्ञ खटिएका थिए।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न एक चिकित्सकले भने,‘ उपचारका क्रममा बिरामीलाई कुनै पनि संक्रमण नफैलियोस र आवश्यक पर्दा सबै उपचार दिन सकियोस भन्ने उद्देश्यका साथ आईसीईयु राख्ने हो तर प्रधानमन्त्रीलाई आईसीयुभित्र लग्नासाथ सुरक्षाकर्मी पनि सँगसँगै भित्र पस्नु भो । केहीलाई त जर्वजस्ती बाहिर पठायौँ । केही भने प्रधानमन्त्री देखिनेगरी उभिरहनु भयो । त्यो देख्दा हामीलाई असहज महसुश भइरहेको थियो।’

यस्तै खाले उपचार अन्य विशिष्ट व्यक्तिका लाागि पनि माग भयो भने अवस्था के होला रु उनले प्रतिप्रश्न गरे।

यता ओलीको डायलासिस गर्ने निधो भएपछि उनको सचिवालय र उनका निजी चिकित्सकले अस्पतालका मेडिकल डाइरेक्टरदेखि अन्य चिकित्सकलाई ओलीको स्वास्थ्य अवस्थाबारे थाहा भएपनि थाहा छैन भन्नु भन्ने निर्देशन दिइको पाइएको छ, सबैलाई एकै ठाउँमा राखेर।

मुलुककै विशिष्ट व्यक्ति प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारबारे सूचना लुकाउनु पर्ने कारण के होला भन्दै उनकै उपचारमा संलग्न चिकित्सकहरु अचम्मित भएको ती चिकित्सकको भनाई छ।

ति चिकित्सकले भने, ‘ प्रधानमन्त्री ओलीको अवस्था जे हो त्यही भन्दा के समस्या हुन्थ्यो होला र रु तर हामी त छक्क पर्यौँ हामीलाई समेत कुनै पनि कुरा थाहा नपाएको जस्तो गर्नु पर्ने निर्देशन आयो । कतै भनिहाल्छन् कि भनेर सुरक्षाकर्मीले पछ्याइरहे । हाम्रो मोबाइलको समेत निगरानी गरियो।’

अस्पतालभित्रै सुरक्षा व्यवस्था कडा पारेर ओलीको स्वास्थ्य अवस्थाबारे सूचना लुकाइरहँदा बाहिर सरकारप्रतिनै आक्रोश पोख्नेक्रम सुरु भइसकेको थियो ।

त्यसैक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा। पाण्डेले सञ्चारमाध्यमसँग कतिपय अवस्थामा बिरामीको परिवारको अनुरोध मान्नु पर्ने, बिरामीको गोपनीयताको रक्षा गर्नु पर्ने भनेपनि गुमाउरो ढंगबाट ओलीको स्वास्थ्य अवस्थाबारे नबोल्न उनलाई पनि निर्देशन आएको संकेत दिइसकेका थिए।

तर बुधबार बिहान पौने १२ बजे सुरु गरिएको ओलीको डायलासिस २ घण्टा चलेको थियो । त्यसबारे राती अवेर मात्रै सञ्चारमाध्यमले थाहा पाएका थिए।

साँझ पख प्रधानमन्त्रीकी निजी चिकित्सक सिंह र अस्पतालका मेडिकल डारेक्टर डा। पाण्डेले प्रेस वक्तव्यमार्फत ओलीको नियमित उपचार तथा स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराए, संयुक्तरुपमा।

त्यसपछि झन समयमै सही सूचना सार्वजनिक नगरेर गोप्य राख्ने प्रयास गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामाथि सचिवालयनै खेलवाड गरेको भन्दै आलोचना सुरु भयो।

ओलीको पहिलो डायलासिस सम्पन्न भएको झण्डै २८ घण्टापछि बिहीबार साँझ ओली डिस्चार्ज हुनु भन्दा करिव तीन घण्टा अघि बल्ल डा। सिंह र डा। पाण्डेले संयुक्तरुपमा जारी गरेको प्रेस वक्तव्यमा उनको हेमोडालासिस गरिएको सार्वजनिक गर्न बाध्य भएका थिए।

उपचारमा संलग्न एक अर्का चिकित्सकका अनुसार ओलीले आफू स्वस्थ भएको सन्देश दिन बुधबार नै अस्पतालबाट बालुवाटार जान खोजेका थिए।

तर उनकी धर्मपत्नी राधिका शाक्यले डायलासिसका लागि अस्पताल आउँदा जाँदा झनै संक्रमण फैलिने डर भएकाले अस्पतालमै बसेर बिहीबार पनि डायलासिस गराउने निधो गरेकी थिइन्।

ओलीलाई बुधबार र बिहीबार गरी दुई पटक गरिएको हेमोडायलासिसको असरबारे केही दिन चिकित्सकले बालुवाटारमै निगरानी गर्ने छन्।

खासगरी ओलीको पिसावको ‘आउटपुट’ हेरिने छ। पिसावको अवस्था राम्रो भएमा नियमित औषधि खाएर प्रधानमन्त्री ओलीले दैनिक कामकाज गर्ने छन्।

तर पिसावको अवस्था राम्रो नभएमा फेरि डायलासिस गर्नु पर्ने हुन्छ । दुई चार पटक डायलासिस गर्नु पर्ने अवस्था आएमा ओलीको पुन स् मिर्गौला प्रत्यारोपणबारे बल्ल छलफल गर्नु पर्ने समय आउने ती चिकित्सकको भनाई छ ।

१२ वर्ष भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका ओलीले त्यसपछि आफ्नो स्वास्थ्यमा उतारचढाव आउन नदिन निकै सचेत भएको देखिन्छ ।

खासगरी उनले नियमितरुपमा औषधि सेवन गर्न, सन्तुलित खाना खान र पर्याप्त सुत्न, भागदौढ नगर्न धर्मपत्नी शाक्यले प्रेरित गर्दै आएकी छिन्। र, अक्सर ओली सामेल हुने सार्वजनिक कार्यक्रममा उनी पनि देखा पर्छिन ओलीको स्वास्थ्यका कारण।

तर अव ओली सकेसम्म भिडबाट टाढा अर्थात ‘आइसोलेट’ भएर बसेमा मिर्गौलाको संक्रमणबाट जोगिने सुझाव चिकित्सकले दिएका छन्। साथै घुमफिर कम गर्न र धपेडीबाट पनि जोगिनु पर्ने सुझाव उनीहरुले ओलीलाई दिएका छन्।

ओलीले गत भदौमा मात्रै सिंगापुर पुगेर प्लाज्मा फेरेसिस पद्दतीबाट उपचार गराएका थिए।श्रोत देश सञ्चार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*