तिहार दिदीभाइ–दाजुबहिनीहरुको मिलनको पर्व हो : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारलाई प्रकृतिका विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताउनुभएको छ । तिहार अर्थात दिपावलीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पुजाआजा गरिने भएकोले यसलाई प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको उल्लेख गर्नुभएको छ ।
“तिहार प्रकृतिसँग मिलेको, पशुपंक्षीसँग मिलेको, कागको पूजा गरिने, कुकुरको पूजा, लक्ष्मीको पूजा, गोरुको पूजा अथवा यस्ता पूजा पनि गरिन्छन्” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ “प्रकृतिका विभिन्न पक्षहरु बीचको सन्तुलन समेत यस पर्वमा प्रतिबिम्वित हुन्छ ।” प्रधानमन्त्री ओलीले तिहारलाई विभिन्न कोणबाट हेर्न सकिने बताउनुभएको छ । “यो चाड उज्यालोको चाड यसलाई दिपावली पनि भनिन्छ । दिप अर्थात बत्तीहरु बालेर, उज्यालोको प्रतिक बत्ती बालेर चाड मनाउने गरिन्छ ।
यस चाडमा सयपत्री, मखमली र अरु विभिन्न फलफुलहरु सबैभन्दा धेरै प्रयोग हुने चाड हो । यसैगरी परिवारका सदस्यहरुको खासगरी दिदीभाइ–दाजुबहिनीहरुको मिलनको चाड पनि हो” प्रधानमन्त्री ओलीले भन्नुभएको छ .“तिहारलाई उज्यालोको चाड, फूलको अथवा मिलनको चाडको रुपमा समेत लिन सकिन्छ ।” सन्देशमा प्रधानमन्त्री ओलीले तिहारको उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुस्वास्थ्य, सुख–समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।