समसामयिक विषयमा व्यङ्ग्य कस्दै सिस्नुपानीकाे देउसी भैलो
काठमाडौं । सिस्नुपानी नेपालले समसामयिक विषयमा व्यङ्ग्य कस्दै यस वर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र राजनीतिक दलका प्रमुख नेताहरुको उपस्थितिमा यस वर्ष पनि सिस्नुपानी नेपालले काठमाडौंको प्रज्ञा भवनमा समसायमिक विषयमा व्यंग्य गर्दै देउसी भैलो कार्यक्रम आयोजना गरेको हो ।
आईतबार साँझ आयोजना गरिएको सो देउसी भैलो कार्यक्रममा पूर्व सभामुख कृष्णबहादुर महराको काण्डलाई लहराको संज्ञा दिँदै भिआईपी अरु पनि कति महराहरु होलान भनि व्यंग्य कसिएको छ ।
तानिदैछन् लहरा भत्किदैछ्न् पहरा
भीआइपी कति होलान् गुप्त महरा ।
नागार्जुनमा मुसो कुद्दा सिन्हदरबार थर्किन्छ
यस्तो कुरा सुन्दा हामीलाइ पानी सर्किन्छ ।
अझैपनी थुनिदैछन् कवि, लेखक, कलाकार
पञ्चायतलाई नसम्झाउन हेलो सरकार।
त्यसैगरी लाउडा काण्डमा सबै राजनीतिक दलहरुले मिलेर भ्रष्टाचार गरेको पनि दावी गरिएको छ ।
सिस्नुपानी नेपालको सो कार्यक्रममा कवि अर्जुन पराजुलीले सहरमा बगली बगलीमा लालपूर्जा राखेर गाउँको नाम जप्ने गरिएको भन्दै कवितामार्फत राजनीतिक दलहरुप्रति व्यक्त गरेका छन् । उनले काँधमा हलो भिरेर तन्दुरी जोत्न पाँच तारे होटल जाने गरेको भन्दै राजनीतिक दलका नेताहरुलाई गोरुको रुपमा चित्रण गरेपछि कार्यक्रममा हाँसोको गुन्जयमान भएको थियो ।
नेकपाको स्कुलमा कति उच्च भावना
माधव नेपाल दिने, केपी ओली नलिने
स्वास्थ्यलाभको शुभकामना ।।
यता, हास्य कलाकार मनोज गजुरेलले चिनिया नागरिकबाट हुने तस्करीप्रति संकेत गर्दै जोगीको भेषमा व्यंग्य गरेका थिए । उनले ‘उत्तरी दिशाबाट आउने सुन तस्कर गेट बाँधो, दक्षिणी दिशाबाट आउने काला बजारीको सिन्डीकेट बाँधो’ भनेर व्यंग्य कस्दा कार्यक्रममा हाँसोको फोहोरा छुटेको थियो ।
सिस्नुपानी नेपालले दुई दशकयता समसामयिक विषयहरुमा व्यंग्य गर्दै देउसी भैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।