कांग्रेसमा केन्द्रीय समिति बैठक सर्यो
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विधान गठनका विषयमा विवाद देखिएको छ । कांग्रेसको संस्थापन पक्ष र इतर पक्षबीच पार्टीका रिक्त विभाग गठनका विषयमा कुरा नमिल्दा बिहीबारका लागि बोलाइएको बैठक १४ कात्तिकमा बस्ने गरी सरेको हो ।
संस्थापनइतर समूहको पार्टीको विधानअनुसार गठन हुनुपर्ने सबै विभागलाई पूर्णता दिनुपर्ने अडानपछि बैठक स्थगित भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । इतर समूहले विधानअनुसार पार्टीका रिक्त २८ वटै विभाग गठन गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका छन् ।
तर, सभापति देउवाले भने विभाग गठन गर्दा तत्काललाई पुरानै विधानअनुसार गरौं भनेपछि संस्थापन पक्ष र इतर पक्षबीच कुरा नमिलेको केसीले जनाए ।
‘सभापतिले पुरानै विधानअनुसार विभाग गठन गरौं भन्ने प्रस्ताव गर्नुभयो, इतर पक्षले महासमितिले पारित गरेको विधानअनुसार नै विभाग बन्नुपर्छ भन्ने अडान राख्यो, सोही विषयमा कुरा मिलेन,’ नेता केसीले राजधानीसँग भने ।
कांग्रेसको गत पुसमा राजधानीमा सम्पन्न महासमिति बैठकले पारित गरेको विधानअनुसार केन्द्रमा २८ वटा विभाग रहनेछन् । तर, सभापति देउवाले भने पुरानै विधानअनुसार अर्थात् ४२ विभागको प्रस्ताव गरेको इतर पक्षको भनाइ छ ।
कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले भने अन्य पार्टीबाट कांग्रेस प्रवेश गर्नेहरू धेरै हुँदा समय अभावका कारण बैठक स्थगित गरिएको बताए ।
‘केन्द्रीय समिति बैठक बिहीबारका लागि बोलाइएको हो तर अन्य पार्टीबाट आएका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै गर्दा समय अभाव भएर बैठक सरेको हो, तिहारपछि बैठक बस्छ,’ नेता विश्वकर्माले भने ।
उनले आगामी बैठकमार्फत पार्टीका रिक्त विभागले पूर्णता पाउने बताए । इतर पक्षले भने अब बस्ने बैठकमार्फत पार्टीका सबै रिक्त विभाग, नेविसंघ, तरुण दलसहितका सबै भ्रातृसंगठनका विषयलाई समग्रतामा टुंग्याउनुपर्ने बताएको छ ।
कांग्रेस विधानमा केन्द्रीय समितिले आवश्यक विभाग गठन गर्न सक्ने व्यवस्था छ । कांग्रेसले बिहीबारको बैठकबाट उपनिर्वाचनमा उम्मेदवार बनाइने पार्टीका नेताबारे समेत छलफल हुने बताएको थियो । तर, सोबारे समेत कुनै छलफल हुन सकेन ।
कांग्रेसमा धरान उपमहानगरपालिकाबाट उम्मेदवारमा तिलक राईको नाम सर्वसम्मत सिफारिस भएको छ भने अन्यत्रबाट उम्मेदवार बन्ने आकांक्षी धेरै देखिएका छन् । राजधानी दैनिकबाट लिइएकाे खबर