प्रधानमन्त्री ओली आज अजरबैजान जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) बिहान अजरबैजान प्रस्थान गर्दैछन्।
असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन उनी अजरबैजानको राजधानी बाकु जान लागेका हुन्।
असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलन शुक्रबारदेखि सुरु हुँदैछ। सम्मेलनमा सहभागी हुन ओली बिहान पौने १२ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भेनेजुयलाका कम्युनिस्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम छ। ओलीले शनिबार सम्मेलनलाई संवोधन गर्नेछन्।
अजरबैजानको बाकुमा नाम सम्मेलनको साइडलाइनमा भेनेजुयलाकै आग्रहमा प्रधानमन्त्री ओलीले मडुरोलाई भेट्न लागेका हुन्। मुडुरो नामको वर्तमान अध्यक्ष हुन्।
ओली र मडुरोबीच शनिबार बिहान भेट हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
ओलीले मडुरोसहित बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भारतका उपराष्ट्रपति एम भेनकाई नायडुलगायतसँग पनि भेटघाट गर्नेछन्।
भ्रमण सकेर प्रधानमन्त्री कार्तिक १० गते स्वदेश फर्कने छन्। भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
असंलग्न राष्ट्रहरुको समूहमा १ सय २० देश आवद्ध छन् भने १७ मुलुक पर्यवेक्षक सदस्य रहेका छन्।
दोस्रो विश्वयुद्धपछि अधिकांश मुलुक तत्कालीन सोभियत संघ र अमेरिका पक्षधरमा विभाजित भएका बेला तटस्थ रहेका मुलुक आबद्ध रहेर सन् १९६१ मा सर्वियाको राजधानी बेलग्रेडमा नाम आन्दोलन स्थापना भएको थियो। नेपालखबर बाट