महराकाे सिटाैलासँग गुनासाे, महरा भन्छन् : बादलले बदला लिन खाेजे

निरन्तर न्यूज
५ कार्तिक २०७६, मंगलवार ०७:१४

काठमाडौं, ४ कात्तिक । कृष्णबहादुर महरा अहिले संसद सचिवालयकी कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा प्रहरी हिरासतमा छन् । उनी विरामी भएका कारण अहिले अस्पतालमै राखिएको छ । उनले अस्पतालमा भेट्न आउने नेताहरुसँग आफूलाई फसाइएको गुनासो गर्ने गरेका छन् । महराले आफूलाई गृहमन्त्री रामबहादुर थापा बादलले बदला लिन खोजेर फसाइएको बताउने गरेको बुझिएको छ ।

नर्भिक अस्पतालमा भेट्न पुगेका काँग्रेस नेता कृष्णप्रसाद सिटौलासँग महराले आफूलाई फसाउन खोजिएको गुनासो पोखेका हुन् । शान्ति प्रक्रियामा वार्ता टोलीमा रहेका महरा र सिटौलाको राम्रो मित्रता छ ।

महराले पहिले माओवादीको चुनवाङ बैठकमा रामबहादुर थापा बादलविरुद्ध साँस्कृतिक विचलनको आरोप लगाएर बादललाई कारवाही गर्न पार्टी हेडक्वार्टरलाई सिफारिश गरेका थिए । त्यही प्रसंगको बदला लिँदै अहिले रोशनी शाहीसँग आफ्नो चिनजान भएको आधारमा आफूलाई फसाइएको महराले गुनासो गरेका हुन् ।

असोज १९ गते पक्राउ परेका महरालाई दशैं लगायतका विदाका कारण सुरुमा त अदालतमा उपस्थित गराउनै ढिला भयो । पछि असोज २८ गते प्रहरीले अदालतमा उपस्थित गराई थप समय माग गरेर बयान लिने काम सुरु गर्‍यो । यसपछि कात्तिक ३ गते महरामाथि लागेको आरोपको अनुसन्धानका लागि पुनः म्याद थप भएको छ ।

अहिले महरा नेकपासँग रुष्ट भएको पनि बुझिएको छ । घटना सार्वजनिक हुने बित्तिकै नेकपाले महरालाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन भन्यो । महराले सभामुख पदबाट त तत्काली राजीनामा दिए । तर उनले सांसद पदबाट राजीनामा दिएनन् । नेकपा नेताहरुले सांसदका रुपमा पनि महरालाई पार्टीले नचिन्ने बताउन थालेपछि महराले पनि आफूलाई भेट्न आउनेहरुसँग आफू सभामुख भएपछि नै पार्टीबाट राजीनामा दिएकोले पार्टीले भनेको मान्न बाध्य नभएको र आफूले सांसद पदबाट राजीनामा नदिने बताउने गरेको बुझिएको छ ।

यो प्रकरणले कस्तो मोड लिन्छ ? यसै भन्न सकिने स्थिति छैन । उता पीडित भनिएकी रोशनी शाहीले पटक पटक वयान फेर्ने गरेकी छिन् भने महरा विरामी भएका कारण महरासँगको वयान लिने काममा पनि ढिलाइ भइरहेको छ । वयानका क्रममा रोशनी शाहीको कोठामै नगएको बताएका महराका लागि रोशनीलाई गरेको एसएमएस टाउको दुखाइको विषय बनेको पनि स्रोत बताउँछ । महराले घटना भएको भनिएको भोलिपल्ट रोशनीलाई ‘फर्गेट एस्टर्डे’ भनेर एसएमएस गरेका थिए । साझापाेष्ट डटकमबाट लिइएकाे खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*