निर्वाचन आयाेगले उपनिर्वाचनका लागि निर्वाचन अधिकृत खटायाे
काठमाडौँ। निर्वाचन आयोगले आगामी मंसिर १४ मा हुने उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको छ ।
यही कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाएको आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । आयोगले न्याय परिषद्को परामर्शमा ३७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ नेपाल न्याय सेवाका राजपत्राङ्कित द्धितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।