इन्सपेक्टरसहित तीन प्रहरीलाई निलम्बन गरी मुद्दा चलाउन आयोगको सिफारिस
काठमाण्डाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेललाई बल प्रयोग गरी प्रहरीले हत्या गरेको राष्ट्रिय मानवअधिकार आयोगले निष्कर्ष निकालेको छ । साेही निष्कर्षअनुसार आयोगले गोली प्रहारमा संलग्न इन्सपेक्टर कृष्णदेवप्रसाद साहसहित तीन प्रहरीलाई निलम्बन गरी मुद्दा चलाउन सिफारिस गरेको छ ।
गत ५ असारमा सर्लाहीको लालबन्दीमा प्रहरीको गोलीबाट पौडेलको मृत्यु भएको थियो । प्रहरीले दोहोरो मुठभेडमा मृत्यु भएको बताए पनि आयोगले दोहोरो भिडन्त वा आत्मरक्षाको अवस्था नरहेको जनाएको छ । इन्सपेक्टर शाहसहित हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रमाथि मुद्दा चलाउन सिफारिस गरेको हो ।
त्यस्तै इन्सपेक्टर किरण न्यौपाने र सई सूर्य कुमार कार्कीलाई विभागीय कारबाही गर्न भनिएको छ । उनीहरुले मुचुल्का उठाउन गल्ती गरेको प्रहरी भनाइ छ । गोली हान्न आदेश दिने अधिकारीहरुलाई समेत कारबाही गर्न भनिएको हो । इन्सपेक्टर साहसहित तीन प्रहरी प्रहरी प्रधान कार्यालयमा खटिएका थिए ।
शव परीक्षणमा गल्ती गरेको भन्दै आयोगले जिल्ला अस्पताल सर्लाहीका तत्कालीन चिकित्सक डा. वीरेन्द्र कुमार यादवलाई समेत कारबाही गर्न सिफारिस गरिएको आयोगका सचिव वेद भट्टराईले जनाएका छन् । आयोगको सोमबारको बैठकले यस्तो निर्णय गरेको हो । नयाँपत्रिकाबाट लिइएकाे खबर