नेपालबाट दिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना, २ दर्जन घाइते

निरन्तर न्यूज
४ कार्तिक २०७६, सोमबार ०९:४८

काठमाडौं। नेपालबाट भारतको राजधानी नयाँदिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटना भएको छ ।

आइतबार बिहान भारतको लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर बस दुर्घटना भएको भारतीय समाचार माध्यमले जनाएका छन् । दुर्घटनामा परी बसमा सवार २ दर्जनभन्दा बढी यात्रु घाइते भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

भारतीय समाचार माध्यम दैनिक जागरण अनुसार दुर्घटनामा नबिन थापा, नन्दु, टेकबहादुर, धनकुमारी, अनिता थापा, तारा, प्रेम, मुमादेवी थापा, चरण विस्ट, सुनिता विस्टलगायतका नेपाली यात्रु घाइते भएका छन् । समाचारमा घाइतेको ठेगाना भने खुलाइएको छैन । घाइते हुनेमा ६ महिनाको बालकसमेत रहेको जनाइएको छ ।

ट्रकसँग ठोक्किएर बसको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । बसका चालक र परिचालक पनि घाइते भएका छन् ।

बसमा सवार अधिकाशं नेपाली रहेको र घाइते हुनेमा नेपाली नागरिक बढी रहेको बताइएको छ । हाल घाइतेहरुलाई लोहिया अस्पताल भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*