भारत र चीनबीचको सम्बन्धमा सन्तुलन कायम गरेर अघि बढ्नुपर्छ : डा भट्टराई
गोरखा। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुर्याएको बताएका छन् ।
समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उनले गोरखा सदरमुकाममा बिहीवार आयोजित पत्रकार भेटघाटमा भने– ‘विश्व शक्ति राष्ट्र बन्ने दिशामा गएको छिमेकी देशका प्रमुख नेता आउँदा देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुगेकोे छ यो सकारात्मक र महत्त्वपूर्ण कुरा हो ।’
नेपालले दुवै छिमेकी देशबीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले भने, ‘हामी दुवै देशबीच समान सम्बन्ध राखेर अघि जान सकिन्छ भन्ने मान्यता राख्छौँ र राष्ट्रपति शीको भर्खरै सम्पन्न भ्रमणले पनि यही सन्देश दिन्छ ।”
अर्को फरक प्रसङ्गमा डा. भटृराईले लोकतन्त्रका कारण पछिल्लो समय अपराध लुक्न नसकेको बताए ।
सांसद विभिन्न आपराधिक घटनामा संलग्न भएको भन्ने आरोपमा धमाधम पक्राउ पर्नु लोकतन्त्रको उपलब्धि भएको उनको भनाइ थियो ।
‘साधारण नागरिक मात्र होइन गलत कार्य गर्ने जोसुकैलाई पनि कानूनबमोजिम कारवाही हुन्छ भन्ने सन्देश गएको छ, यो अत्यन्तै सकारात्मक पाटो हो’, डा. भट्टराईले भने । लाेकान्तरबाट लिइएकाे खबर