एसियाको संस्कृति र सभ्यता विश्वकै लोभलाग्दो छ: प्रधानमन्त्री ओली
काठमाडौं । ‘साहित्य र संस्कृति एकअर्काका परिपूरक हुन् त्यसैले नेपाल अब संस्कृतिसँगै साहित्यमा पनि फड्को मार्ने क्रममा छ’, प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘एसिया विश्वका लागि धेरै विषयको गुरु हो, संस्कृति सभ्यताको जननी हो, यसकारण पनि हामी विश्व परिवेशमा नयाँ ढंगले अघि बढ्न चाहेका छौं।’
नेपाल प्रज्ञा प्रतिष्ठानले अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवद्र्धनका लागि मंगलबार परिसरमा सुरु गरेको पाँचदिने ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन’ मा उनले एसियाको संस्कृति र सभ्यता विश्वकै लोभलाग्दो भएको बताएका हुन्।
नेपाल संक्रमण कालपछि विकासमा अघि बढिसकेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले अबका दिनमा साहित्यिक क्षेत्रबाट संस्कृति र सभ्यतालाई विश्वभर फैलाउन अघि बढ्न चाहेको बताए। ‘एसिया सभ्यता र विकासको जननी हो, यहीँबाट अक्षर, गणित, ज्ञानको संग्रह, ज्योतिष, योग, औषधि विज्ञान, दर्शन, छन्द, संगीत र आविष्कार आदि सुरुआत भएको हो’, उनले भने, ‘वेद उसबेलादेखि श्रुति परम्परामा हजारौं वर्षदेखि जीवितै चलिआएकै छन्।’ उनका अनुसार न्युटनले पत्ता लगाएको भनिएको गुरुत्वाकर्षणको सिद्धान्त नेपालमा भाष्कर आचार्यले गणितका माध्यमबाट प्रमाणित गरी ‘सिद्धान्त शिरोमणि’ किताबमा १११० सालमै प्रकाशित गरेका थिए। यी सबै विषय र क्षेत्रमा पूर्वले देखाएको बाटो पश्चिमा देशले अनुसरण गर्दै अघि बढेको बताउँदै उनले थपे, ‘पारिवारिक आचरणदेखि सामाजिक सम्बन्ध हुँदै थुप्रै संस्कृतिमा विश्व लोभिएको छ, तर हामीले भएगरेकै काम पनि विश्वलाई चिनाउन सकेनौं।’
प्रधानमन्त्री ओलीले साहित्य र संस्कृतिको माध्यमबाट परिमार्जित सभ्यता सुदृढ ढंगले स्थापित गरे अरू देशलाई बाटो देखाउने हैसियतमा पुग्ने बताए। उनले भने, ‘पश्चिमा संस्कृति अनुसरण गरी भएको आफ्नो मौलिक संस्कृति गुमाउँदै जाने हो भने भोलि लड्ने दिन आउनेछ तर साहित्यमार्फत दक्षिण एसियाका देशबीच साहित्यलाई सघन ढंगले अघि बढाए सुखी र समृद्ध हुनेछौं।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साहित्य र संस्कृतिलाई राजनीति र अर्थतन्त्रले प्रभाव पार्ने बताए। उनले भने, ‘विश्व परिवेशमा एसिया नयाँ शक्तिको रूपमा उदाउँदैछ, त्यसैले राजनीतिक, आर्थिकसँगै सामाजिक रूपान्तरणसँगै साहित्यिक र सांस्कृतिक रूपान्तरण हुनु जरुरी भएको छ।’
प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शान्ति प्रक्रिया र संघीयतापछि नेपालले साहित्य र संस्कृतिलाई एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। ‘साहित्य गैरराजनीतिक विषय हो यो जनतादेखि जनतासम्म प्रत्यक्ष रूपमा पुग्ने र एकआपसमा अन्तरसांस्कृतिक घुलन हुने काम हुन्छ’, उनले भने। उनका अनुसार, साहित्य र संस्कृतिमार्फत सामाजिक विकास सम्भव भएकाले दक्षिण एसियाली मुलुक मिलेर यसतर्फ अघि बढ्ने अवसर प्राप्त भएको छ। दुई वर्षमा हुने यो सम्मेलन पहिलोपटक चीनमा भएको थियो। यसका लागि प्रज्ञा प्रतिष्ठानले अनुवाद र अनुसन्धानलाई बढावा दिने भएको छ।
नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले ग्लोबल भिलेजको समय भएकाले साहित्य र संस्कृतिलाई पनि विश्वभर पुर्याउनुपर्नेमा जोड दिए। नेपालका लागि बंगलादेशकी राजदूत मसफी बिन्टे साम्सले भनिन्, ‘बंगलादेश र नेपाल आर्थिक एवं विकासका दृष्टिले गरिब छन् तर सांस्कृतिक दृष्टिले विश्वकै धनी मुलुकमा पर्छन्।’ प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले सम्मेलनमार्फत अनुकूल वातावरण बनाउँदै राजनीतिक, कूटनीतिक र आर्थिक विकासका लागि साहित्यको भूमिका अहम् बनाउने बताए।
सम्मेलनमा चीनका ली जियाओदोङ, पाकिस्तानका खालिद मसुद खान, बंगलादेशकी महबुबा रहमान, भारतका डा। श्रीराम परिहार, श्रीलंकाका विमल उदय हापुगोदारच्ची, चीनकी लु मिन र नेपालका तर्फबाट प्राडा गोविन्दराज भट्टराईले कार्यपत्र प्रस्तुत गर्नेछन्। यसैगरी नेपालका प्राडा अभि सुवेदी, बंगलादेशका मोहम्मद अकबर हुसैन, चीनका ली कियाङ, माल्दिभ्सका रफिआ अब्दुल गदिर, पाकिस्तानका मुहम्मद हसन हसरत, भारतका डा। सिल्भानस लाम्रे, चीनकी झउ सुन्पु र नेपालका प्राडा योगेन्द्रप्रसाद यादव र प्राडा अम्माराज जोशीले कार्यपत्र प्रस्तुत गर्नेछन्।