पहरीको स्मृतिमा श्रद्धाञ्जलीसभा

निरन्तर न्यूज
२८ आश्विन २०७६, मंगलवार १६:१६

राईगाउँ । पहरी समुदायका अगुवा तथा तत्कालिन नेकपा माओवादी राईगाउँका जनसरकार प्रमुख क्षेत्र बहादुर पहरीको स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।

पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित राईगाउँमा रहेको  पहरी निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमतीले उनको १३ औं दिनको पुण्य तिथीमा सोमबार श्रद्धाञ्जली सभा आयोजना गरेको हो । सभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले स्वर्गीय पहरी जस्ता योद्धाहरुको योगदानमा बर्तमान संविधान र परिवर्तन सम्भव भएको बताए । ‘अब हामीले उहाँहरुले देखाएको बाटोमा हिँड्नुको बिकल्प छैन’,उनले भने ।

कार्यक्रममा नेकपा मकवानपुरका सचिव तथा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, स्वर्गीय पहरीसँगै तत्कालिन नेकपा माओवादीमा काम गरेका नेताहरु हरि सुवेदी, जय बहादुर वाईबा, छोरा शेर बहादुर,नेकपा बागमतीका अध्यक्ष अरुण बलले स्वर्गीय पहरीको जीवनी र योगदानको बारेमा बोलेका थिए । कार्यक्रममा नेकपा ३ नम्बर प्रदेश कमिटिका सदस्य तथा बागमती गाउँपालिका अध्यक्ष सर्केस घलान, नेकपा मकवानपुरका कार्यालय सदस्यहरु बद्रि लम्साल, बलराम बल, जिल्ला सदस्यहरु ललित घलान, जीवन मोक्तान लगायत सहभागि थिए ।

उच्च रक्तचापको कारण बिरामी भएका पहरीको ६३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो । तत्कालिन नेकपा मालेबाट राजनीतिक जीवन सुरु गरेका उनी तत्कालिन नेकपा एमालेहुँदै २०५७ सालबाट नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सामेल भएका थिए । माओवादी आन्दोलनको समयमा माओवादीको आधार इलाका बनेको पूर्वी मकवानपुरको राईगाउँ, फापरबारीबाट सबैभन्दा पहिला जनयुद्धमा हिँड्ने ५ जनामध्येका एक हुन् ।

स्वर्गीय पहरीले आफुसँगै आफ्ना ३ भाई छोरालाई समेत माओवादीको भूमिगत आन्दोलनमा सहभागि गराएका थिए । उनका छोरा शेर बहादुर पहरी संविधानसभा सदस्य समेत भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*