समाजवादी पार्टीको कार्तिक अन्तिममा केन्द्रीय समिति बैठक काठमाडौंमा बस्ने
काठमाडौं। सोमबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको समाजवादी पार्टीको पदाधिकारी बैठकले आगामी कार्तिक २८ गते संघीय परिषद, २९ र ३० गते केन्द्रीय समिति बैठक काठमाडौं गर्ने निर्णय गरेको छ ।
बैठकले संघीय बैठक अगाडि पार्टी समायोजन सम्बन्धि सबै कार्य पूरा गर्न समेत स्थानीय समितिलाई निर्देशन गरेको छ । संघीय बैठकबाट विशेष कार्ययोजना पारित गरी मंसिर १ गतेबाट देशव्यापी जागरण अभियान प्रारम्भ गर्ने संभावना रहेको एक पदाधिकारीले बताए ।
बैठकले महेन्द्र श्रेष्ठको नेतृत्वमा १९ सदस्ययीय अनुशासन आयोग, अमरेश नारायण झाको नेतृत्वमा १७ सदस्सीय लेखा आयोग र डा. शिवजी यादवको नेतृत्वमा १९ सदस्यीय निर्वाचन आयोग समेत गठन गरेको छ ।
त्यसैगरी मोहनलाल चौधरी प्रमुख रहेको संवैधानिक तथा कानुनी व्यवस्था विभाग, उदयकान्त मिश्र प्रमुख रहेको भ्रष्टाचार निवारण तथा सुशासन विभाग तथा रामरिझन यादव संयोजक रहेको समाजवादी जनअभियान समेत गठन गरेको छ ।
पार्टीले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी समेत प्रारम्भ गरेको छ । संघीय तथा प्रादेशिक सदस्यको उम्मेद्वारको निर्णय गर्ने अधिकार केन्द्रीय समितिमा राखिएको छ भने स्थानीय तहका उम्मेद्वारहरुको निर्णय गर्ने अधिकार पार्टी प्रदेश समितिलाई दिएको छ ।
पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्न बरिष्ठ नेता अशोककुमार राईको संयोजकत्वमा राजेन्द्र श्रेष्ठ, हिसिला यमी, दूर्गा सोब, मो. इस्तियाक राई, प्रेमनारायण थापा, गणेश योन्जन, आङकाजी शेर्पा, बीरेन्द्र महतो, कमला गुरुङ र श्रवण अग्रवाल रहेको ११ सदस्सीय भवन निर्माण समिति समेत गठन गरेको छ ।