नागरिकमैत्री वातावरण निर्माण गरी शान्ति सुरक्षा कायम गर्नु प्रहरीकाे दायित्व : मुख्यमन्त्री पाैडेल
हेटाैँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डाेरमणि पाैडेलले नागरिकमैत्री वातावरण निर्माण गरी शान्ति सुरक्षा कायम गर्नु प्रहरीकाे दायित्व रहेकाे बताएका छन् । ६४औँ प्रहरी दिवसकाे अवसरमा सम्वाेधन गर्ने क्रममा मुख्यमन्त्री पाैडेलले ‘नागरिक बिना बर्दीका प्रहरी र प्रहरी बर्दीका नागरिक’ भएकाे बताएका छन् ।
प्रहरी दिवस २०७६ का अवसरमा मुख्यमन्त्री डोरमणि पौडेलको सम्बोधन
आज देशभर नेपाल प्रहरीले भव्य, सभ्य र हर्षोल्लास साथ ६४ औंप्रहरी दिवस मनाउन लागि रहेको सन्दर्भमा हामी यहाँ उपस्थित भएका छौ ।यस पावन अवसरमानेपाल प्रहरी संगठनमा कर्तव्यपथमा अविचलित भै सेवारत रहनु हुने सम्पूर्ण प्रहरी अधिकृत तथा जवान सुरक्षाकर्मीहरु, सेवानिवृत प्रहरी कर्मचारीहरु लगायत प्रहरी परिवारमाहार्दिक शुभकामना व्यक्त गर्दछु । साथै यस अवसरमा राष्ट्रहित, शान्ति सुरक्षा र नागरिक सुरक्षाका लागि कर्तव्य पालनका सिलसिलामा आफ्नो ज्यानको आहुती दिनुहुने अमर सपूतहरुको योगदानलाई स्मरण गर्दै वीर अमर प्रहरीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु र वीर अमर प्रहरीका परिवारजन तथा आफन्तजनमा समवेदना प्रकट गर्दछु ।
प्रहरी ऐन २०१२ लाई लालमोहर लगाइएको दिनको स्मरणमा यो दिवस अमर प्रहरी सम्मान, प्रहरी अधिकारीबीच पुनर्मिलन र नागरिक सेवाभावप्रति प्रतिवद्धतासहित विभिन्न कार्यक्रम आयोजना गरि मनाइदैछ । प्रहरी नागरिकका सेवक हुन् साथै नागरिक प्रहरीलाई साथ दिने जिम्मेवार व्यक्ति हुन् । भनिन्छ कि नागरिक बिना बर्दीका प्रहरी र प्रहरी बर्दीका नागरिक हुन् । हाम्रो प्रहरी संगठनको सन्दर्भमा नागरिकले प्रहरीप्रति राख्ने सोचाइ बुझाई र प्रहरीको नागरिकप्रतिको सेवामैत्री व्यवहार समानुकूल सुधार र आपसी विश्वास हुन जरुरी पर्दछ । मूलत समाजमा हुने अपराध नियन्त्रण र अपराध अनुसन्धानको माध्यमबाट जनता वा नागरिकमैत्री वातावरण निर्माण गरी शान्ति सुरक्षा अमन चयन कायम गर्नु नेपाल प्रहरीको प्रमुख दायित्व हो ।वर्तमान अवस्थामा सार्वजनिक सुरक्षाको बहुआयामिक पक्ष रहेको सन्दर्भमा कर्तव्य पालनामा अझ निखारता ल्याई व्यवसायिकता विकासका लागि अझ जुट्नु जरुरी छ ।
हामी अहिले संविधानको कार्यान्वयन गर्ने क्रममा छौ ।हाम्रो संविधानले नागरिकका मौलिक हक र कर्तव्यलाई अक्षुण्ण राखेको छ । विशेष गरी संविधानले राज्यका मार्ग निर्देशक सिद्धान्तका रुपमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई सर्वोपरी राख्दै नागरिक समानता र स्वतन्त्रताको संरक्षण गरी लोककल्याणकारी राज्यस्थापना गर्ने उद्देश्य लिएको छ । यसलाई व्यवहारमा ल्याउन र एक अर्काप्रति सम्मान भाव र सुरक्षाको वातावरण तयार गरी कानूनी राज्यको प्रत्याभूति प्रदान गर्न सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहन्छ । यस अर्थमा विभिन्न कालखण्डमा नेपाल प्रहरीले खेल्दै आएको रचनात्मकभूमिकाप्रति धन्यबाद ज्ञापन गर्दछु ।
वर्तमान संघीय प्रणाली बमोजिम नेपाल प्रहरीकोसंगठन संरचनाको व्यवस्थापन गर्नु, संगठित अपराध र जघन्य अपराध, महिला तथा बालबालिकामाथि हुने अमानवीय कार्यप्रति कानुनी कठोरता अपनाउनु, विधिको शासन सुनिश्चितताका लागि फौजदारी अपराध संहिताको कार्यान्वयनमा वस्तुनिष्ट आधार निर्माण गर्नु, मानव अधिकारको प्रवर्द्धन तथा जोखिममा रहेका वर्गलाई विशेष कानुनी संरक्षण प्रदान गर्नु, प्रहरी कर्मचारीहरुको व्यवसायिक क्षमता विकास, पारदर्शिता र निष्ठामा उत्कृष्ठता साथै सरकारप्रति प्रतिवद्ध रही नागरिकमैत्री प्रहरीको रुपमा छवि विस्तार गर्नु प्रहरी संगठनको हालको महत्वपूर्ण कार्यभार हो ।
प्रदेश सरकार गठन भएको यस अवधिमा प्रदेशको शान्ति सुरक्षा र अमन चयनका लागि विशेष ध्यान दिइएको छ । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत प्रदेश प्रहरी अन्तर्गतका ४८प्रहरी इकाईहरुको भौतिक व्यवस्थापनका लागि गत आर्थिक वर्षमा बजेट बिनियोजन गरी नयाँ भवन निर्माण कार्य अगाडि बढेको छ । त्यस्तै गरी प्रदेश अन्तरगतका जिल्लाहरुको शान्ति सुरक्षाका सम्बन्धमा सुरक्षा गोष्ठी सञ्चालन र विभिन्न क्षेत्रमा रहेका अपराध नियन्त्रण लगायत गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न कार्यक्रम सञ्चालन गरी सुरक्षा निकायहरुसंगको समन्वय र सहकार्यमा अझै व्यवस्थित बनाउने प्रयासको थालनी गरिएको छ ।
प्रदेश सरकारको यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश प्रहरी सम्बन्धी कानुन तर्जुमा गरी प्रदेश प्रहरी गठन गरिने र सुरक्षालाई जनस्तरसम्म मजबुद र सुदृढ बनाउन स्थानीय तहसंग सहकार्य गर्ने नीति लिइएको छ । त्यस्तै गरी राज्य विरुद्ध हुने गतिविधि अपराध लगायतको सूचना सङ्कलन, अध्ययन, अनुसन्धानका लागि प्रदेश अनुसन्धान व्यूरो गठन गर्ने उल्लेख भएको जानकारी गराउन चाहन्छु । विशेष गरी स्थानीय स्तरमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मीहरुका लागि इकाईका भौतिक संरचना दरिलो बनाउन तीनवटै तहका सरकारको समन्वयमा स्रोत साधनको व्यवस्था गर्न र सुरक्षाकर्मीहरुको क्षमता विकासमा प्रदेश सरकारको ध्यान गएको छ ।
आजको यस पुनीत अवसरमा वीर अमर प्रहरीको सम्झनामा उहाँहरुले पुर्याउनु भएको योगदानको कदर गर्ने र अविचलित भई देश र जनताको सुरक्षाको खातिर जुट्ने र प्रहरी पुनर्मिलनले आपसी अन्तरक्रिया मार्फत संगठनलाई थप सुदृढ बनाउन सहयोग पुग्ने साथै नागरिक मैत्री सेवा प्रवाह गरी सुरक्षाको भरपर्दो वातावरण बनाउन सबैमा प्रेरणा मिल्ने विश्वास लिएको छु । अन्तमा यस भव्य कार्यक्रममा निमन्त्रणा गरी सहभागी हुने अवसर दिनुभएकोमा प्रदेश नं ३ प्रहरी कार्यालय परिवारलाई हार्दिक धन्यबाद व्यक्त गर्दछु ।
पुन: ६४ औ प्रहरी दिवसको यस अवसरमा सकल दर्जाका प्रहरी परिवारमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२०७६।०६।२५
धन्यबाद