सञ्चारकर्मी रवि लामिछानेकाे वहस दशैँपछि हुने
हेटाैँडा । टेलिभिजन कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी रवि लामिछाने चितवन जिल्ला अदालतको विरुद्धमा दिएको निवेदन उपरको सुनुवाइ दशैँपछि मात्र हुने उच्च अदालत हेटाैँडा इजलासले जनाएकाे छ ।
जिल्ला अदालत चितवनले गएको २०७६ भदौ ९ गते सञ्चारकर्मीद्वय लामिछाने र युवराज कँडेललाई क्रमश पाँच लाख र तीन लाख रुपैयाँ धरौटीमा रिहा गरेको विरुद्धमा उनीहरु दुवैले भाद्र १७ गते निवेदन दर्ता गराएका थिए ।
सरकारी वकिलको कार्यालयको मिसिलमा रुकु कार्कीलाई समेत प्रतिवादी बनाइएकोले प्रतिवादी कार्कीका तर्फबाट अधिवक्ता रामकृष्ण देउलाले बिहीबारको बहस, सुनुवाइ स्थगित गरी पाउँ भनी गएको भदौ २६ गते उच्च अदालत पाटन हेटौँडा इजलासमा निवेदन दिएको हुनाले बहस स्थगित भएको उच्च अदालत हेटौँडाका सूचना अधिकारी अमृत घिमिरेले जानकारी दिए ।
उच्च अदालतका अनुसार हेटौँडा इजलासमा तल्लो तहको अदालतको विषयमा गरिने सुनुवाइ वा बहस प्रत्येक बिहीबार मात्रै हुने कार्यतालिका भएकाले सम्भवत आउँदो असोज ३० गते बहस तथा सुनुवाइ हुने सम्भावना रहेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
शुक्रबार १० गतेदेखि दशैँको बिदा सकिएपछि मात्रै अदालत खुल्ने भएकोले कार्यालय खुलेपछि यस मुद्दालाई पेसी चढाइने र त्यसपछि मात्रै सुनुवाइको मिति तय हुने बताइएको छ ।