संविधान संशोधनका लागि समाजवादी पार्टीको दबाब
बुटवल । समाजवादी पार्टीले सरकारलाई संविधान संशोधन गरी आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन गर्न दबाब दिएको छ । सरकारले तत्कालीन संघीय समाजवादी फोरमसँग सरकार गठनपूर्व संविधान संशोधन गरी संविधानबाट असन्तुष्ट पक्षहरुको माग समेट्ने प्रतिबद्धता जनाएको थियो ।
समाजवादी पार्टीले संविधान दिवसको अवसरमा शुक्रबार ७ वटै प्रदेशहरुमा संविधान संशोधनको आवश्यकता र अपरिहार्यता विषयमा अन्तरक्रिया गरी सरकारलाई संविधान संशोधनका लागि दबाब दिएको हो ।
अन्तरक्रियाकै क्रममा समाजवादी पार्टी, प्रदेश ५ ले बुटवलमा अन्तरक्रिया सम्पन्न गरेको छ । पार्टीले तत्काल संविधान संशोधन गरी विवादित विषयहरुलाई टुंगोमा पुर्याउन आग्रह गरेको छ ।
समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीले अन्तरक्रियामा बोल्दै सत्तारुढ दलहरुले जतिसुकै विलम्ब गरे पनि, प्रतिकूलता सिर्जना गरेपनि संविधान संशोधनको मागलाई पूरा गराएरै छाड्ने अठोट गर्नुभयो । उहाँले ठूला पार्टीहरुले संविधान जारी गर्दा नै संविधान अपूर्ण रहेको कुरालाई स्वीकार गरेको स्मरण गराउँदै, आफूले स्वीकार गरेका मुद्दाहरुमा ठूला दलले आफ्ना प्रतिबद्धता जाहेर गर्न चुनौति दिंदै आफ्ना प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा विषयवस्तुमाथि प्रकाश पार्दै पार्टीका केन्द्रीय सदस्य मनिकर कार्कीले संविधान गतिशील दस्तावेज भएको हुनाले संविधान संशोधन गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने, शासकीय स्वरुपमा परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली बनाउनुपर्ने बताउनुभयो । त्यस्तै प्रदेशको सीमांकन, नागरिकताको विवाद, संवैधानिक निकायहरुको पुनर्संरचना, लोकपाल गठन, तहगत सरकारबिच अधिकार बाँडफाँडको सूचि प्रस्ट्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार एवं लेखक सिद्धिचरण भट्टराईले संविधान तुलनात्मक रुपमा प्रगतिशील भएको हुँदा, परिवर्तनको बाधक नभएको टिप्पणी गर्नुभयो । उहाँले सरकारमा बसेर संविधान नमान्ने कुरा असंगतिपूर्ण भएको बताउँदै समाजवादी पार्टीले लाइन स्पष्ट पार्नुपर्ने बताउनुभयो । पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्नेमा उहाँको जोड थियो ।
अन्तरक्रिया कार्यक्रममा समाजवादी पार्टी प्रदेश ५ का ईन्चार्ज एवं पूर्वमन्त्री दान बहादुर चौधरीले संविधानले सबैको भलो गर्न नसकेकोले संशोधनमार्फत सबैको अपनत्व महशुस गराउनुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा प्रदेश ५ का सहइन्चार्ज चिनक कुर्मी, अध्यक्ष अशोक यादव, मुख्यसचिव यज्ञ पोखरेल, केन्द्रीय सदस्यहरु नारायण खनाल, देवेन्द्र पाण्डे, राम बचन यादव, रामलौटन तिवारी, सुनिता काफ्ले, प्रदेश ५ संसदीय दलका नेता सहसश्राम यादव, प्रदेश सांसद सन्तोष पाण्डे, विजय बहादुर यादवलगायतले संविधान संशोधनको आवश्यकता र औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।