साउदी अरबका २ वटा तेल प्रशोधन केन्द्रमा ड्रोनबाट आक्रमण
एजेन्सी। साउदी अरबका २ वटा तेल प्रशोधन केन्द्रमा ड्रोनबाट आक्रमण गरिएको छ ।
शनिबार बिहान साउदी अरबको अमार्को कम्पनीले सञ्चालन गरेका २ वटा प्रशोधन केन्द्रमा ड्रोन हमला गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । ड्रोन हमलापछि दुबै केन्द्रमा तत्काल आगो लागेको थियो ।
आक्रमणपछि प्रशोधन केन्द्रमा ठूलो आगो लागेको र केन्द्र वरपर गोली चलेको भिडियो अनलाइनमा राखिएको थियो ।
हाल ड्रोन हमलाबाट लागेको आगो नियन्त्रणमा आएको साउदी अधिरकारीले जनाएका छन् । ‘अमार्को कम्पनीमा लागेको आगो हाल नियन्त्रणमा आएको छ’, कम्पनीको वेभसाइटमा लेखिएको छ ।
तेल कम्पनीमा कसले ड्रोन हमला गर्यो भनेर अझै प्रस्ट भइसकेको छैन । हालसम्म उक्त हमलाको जिम्मेवारी कुनै समूहले लिएको छैन । घटनाको अनुसन्धान भइरहेको साउदी अरबका अधिकारीले जनाएका छन् ।
गत महिनामा समेत अमार्कोले सञ्चालन गरेको ग्यास कम्पनीमाथि हुथीले गरेको आक्रमणबाट आगलागी भएको थियो । तर शनिबारको ड्रोन हमलामा आफ्नो संलग्नता रहे/नरहेकोबारे हुथी विद्रोहीले मुख खोलेका छैनन ।
अमार्को तेल कम्पनी साउदी अरब सरकारको स्वामित्व रहेको कम्पनी हो । कम्पनीको अबक्याइक प्रशोधन केन्द्र साउदी अरबको पूर्वी प्रान्तमा अवस्थित छ । यो विश्वकै सबैभन्दा ठूली तेल स्थिरिकरण केन्द्र समेत हो ।
सन् २०१५ देखि साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले एमनमा हुथी विद्रोहीविरुद्ध कारबाही गरिरहेको छ । उक्त कारबाहीविरुद्ध हुथी विद्रोहीले समेत बेला बेला साउदी अरबमाथि ड्रोन र क्षेप्यास्त्र हमला गर्दै आएका छन् ।