‘देशमा फेरि राजा फर्किन्छ’ भन्नेहरु मुर्ख हुन् : शेरबहादुर देउवा
दाङ । प्रमुख प्रतिपक्ष नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले ‘देशमा फेरि राजा फर्किन्छ’ भन्नेहरु मुर्ख भएको टिप्पणी गरेका छन् ।
शनिबार प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । नेपाली जनताले ठूलो संघर्ष र बलिदानबाट राजतन्त्र हटाएको र अब राजा फर्कन नसक्ने उनको भनाइ थियो ।
त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै राजतन्त्रको पक्षका कांग्रेस नभएको समेत देउवाले प्रस्ट पारे । ‘जनताले फालिसकेको राजतन्त्र फर्काउने पक्षमा कांग्रेस छैन’, उनले भने, ‘राजतन्त्रको बारेमा पार्टीमा छलफल नै नभएको कुरामा काग्रेसले राजा फर्काउन चाहेको छ भन्नु मुर्खता सिवाय अरु केही होइन।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले काग्रेसको जनजागरण अभियानको सफलता देखेर कम्युनिस्टहरुले बाँकेमा कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेको आरोप समेत लगाए ।
फरक प्रसंङ्गमा बोल्दै देउवाले भौतिक पूर्वाधारको अभावमा प्रदेश ५ को अस्थायी राजधानी बुटवललाई तोकिएको बताए । ‘प्रदेश राजधानी सञ्चालनकालागि सभा सम्मेलन गर्नुपर्थ्यो तर त्यसकालागि दाङमा पूर्वाधार थिएनन्’, उनले भने, ‘त्यसैले अस्थायी राजधानी बुटबल तोकिएको हो।’
वाईडबडी भ्रष्टचार प्रकरणमा दोषीलाई कारवाही हुनुपर्छ भनी आवाज उठाउने आँफू नै पहिलो व्यक्ति भएको पनि देउवाले बताए । उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको समेत उनले प्रस्ट पारे ।