नेपाल ओलम्पिक कमिटीमा जीवनराम श्रेष्ठकाे नेतृत्व
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा पुन: जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्दी उमेशलाल श्रेष्ठलाई ७ मतको अन्तरले पराजित गर्दै जीवनराम अध्यक्ष बनेका हुन् ।
जीवनरामले १७ मत ल्याउँदा उमेशलालले १० मत मात्र ल्याए । उपाध्यक्षमा ज्योति राणा (२६), तेज गुरुङ (२०), चतुरानन्द राज वैध (२२), सुनिलकुमार श्रेष्ठ (१८) र अशोक बज्राचार्य (१५) निर्वाचित भए । ५ पदका लागि भएको उपाध्यक्ष निर्वाचनमा ८ प्रत्यासी रहेका थिए । पुष्पदास श्रेष्ठ (११), राजीव श्रेष्ठ (११) र समिम मियाँ अन्सारी (१२) उपाध्यक्ष पदमा पराजित भए ।
महासचिवमा पदमा निलेन्द्रराज श्रेष्ठले यसअघिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेलाई हराएका छन् । निलेन्द्रराजले १५ मत प्राप्त गर्दा पुरेन्द्रले भने १२ मत पाएका थिए ।
सचिव पदका लागि भएको निर्वाचनमा निवर्तमान सदस्य सचिव केशव कुमार विष्ट सचिव पदमा पराजित भए । आवश्यक ३ सचिव पदमा ४ जनाको उम्मेदवारी परेको थियो । जसमा जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य २५, संघिय सांसद तुलसा थापा २१ र ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ १८ मत ल्याउँदै विजयी भए । निवर्तमान सदस्य सचिव विष्ट भने १७ मत प्राप्त गर्दै पराजित भए ।
त्यस्तै भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा सदस्य पदमा पराजित भएका छन् । ७ सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको थियो । जसमा आर्चरीका रमेशप्रसाद शिवाकोटी, बक्सिङका राम अवाले, तेक्वान्दोका प्रकाश सम्शेर राणा, साइक्लिङका गोपालसुन्दर कक्षपति, गल्फका तासी घले, बास्केबलका होम दोङ, फुटबलका दीर्घबहादुर केसी विजयी भए ।
ओलम्पिक कमिटिको नयाँ कार्यसमिति:
अध्यक्ष – जीवनराम श्रेष्ठ
उपाध्यक्ष – ज्योति राणा, तेज गुरुङ, चतुरानन्द राज वैध, सुनिलकुमार श्रेष्ठ र अशोक बज्राचार्य
महासचिव – निलेन्द्रराज श्रेष्ठ
सहमहासचिव – पिताम्बर तिम्सिना
कोषाध्यक्ष – रतन टन्डन
सचिव – दीपकहर्ष बज्राचार्य, तुलसा थापा र रामजीबहादुर श्रेष्ठ
सदस्य – रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशसम्शेर राणा, गोपालसुन्दर कक्षपति, टासी घले, होम दोङ, दीर्घबहादुर केसी