प्रचण्ड र चीनका विदेशमन्त्रीसँग गरिएको संवादबारे अमेरिकाले लियाे चासो

निरन्तर न्यूज
२८ भाद्र २०७६, शनिबार १५:५५

इलाम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनका विदेशमन्त्रीसँग गरिएको संवादबारे अमेरिकाले चासो देखाएपछि आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

शनिबार इलाममा स्थानीय पत्रकारहरुसँग संवाद गर्दै उनले नेपाल विश्वका कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारे । केही दिनअघि चिनियाँ विदेशमन्त्रीको भेटमा आफूले अमेरिकाको नेतृत्वमा सञ्चालित इन्डो प्यासिफिक सैन्य गठबन्धनबारे दिएको अभिव्यक्तिको सन्दर्भमा जवाफ दिँदै उनले भने, ‘हामी असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिमा प्रतिवद्ध छौँ । यही नीति हाम्रो मान्यता र सिद्धान्त हो ।’

उनले अगाडि थपे, ‘हाम्रो विदेश नीति अनुसार हामी कुनै पनि शक्ति केन्द्रको सैन्य गठबन्धनमा सहभागी हुँदैनौं । हामी असंल्गन रहन्छौँ ।’ अध्यक्ष दाहालले बिम्स्टेक वा इन्डो प्यासिफिक कुनै पनि सैन्य समूह, गठबन्धन या अभ्यासमा आफूहरु संलग्न नहुने थप स्पष्ट पारे ।

उनले कुनै पनि सैन्य गठबन्धनमा नेपाल तटस्ठ भूमिमा रहने बताए । ‘बिम्स्टेकको सैन्य अभ्यास होस् या इन्डो प्यासिफिकको कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैनौँ’, उनले भने, ‘त्यस खालका सैन्य अभ्यास र रणनीतिक उद्धेश्यमा हामी तटस्थ रहन्छौँ ।’

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदाको प्रसंग स्मरण गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र आफूले पनि त्यही कुरा भनेको जिकिर गरे । उनले भने, ‘हामी एक चीन नीतिमा प्रतिवद्ध छौँ। त्यो हाम्रो घोषित र प्रष्ट नीति हो । इन्डो प्यासिफिक सैन्य रणनीतिमा हाम्रो संलग्नता हुँदैन। चीनविरोधी कुनै पनि गतिविधि हाम्रा लागि सह्य हुँदैन ।’

इन्डो प्यासिफिक सैन्य गठबन्धनबारे चिनियाँ विदेशमन्त्रीसँग आफूले बोलेको भन्दै चीनबाट आएको समाचार त्यहाँको सरकारको आधिकारिक नभएको अध्यक्ष दाहालले बताए । उनले आफूले चिनियाँ विदेशमन्त्रीसँग बोलेको सन्दर्भमा चीनबाट परराष्ट्र मन्त्रालयले कुनै औपचारिक धारणा सार्वजनिक नगरेको बताए ।

उनले भने, ‘केही समाचार एजेन्सी र पत्रपत्रिकाकामा प्रकाशित समाचारबारे जानकारी छ। तर सरकार या परराष्ट्र मन्त्रालयले बोलेको होइन ।’ अमेरिकाको राजदूतावास या स्टेट डिपार्टमेन्टबाट कसैले नमागेको र सरकारलाई चिठ्ठी नआएको बताए ।

भेनेजुएला र क्युबामा पुरानै अडान भेनेजुएला र क्युबाको प्रकरणमा अमेरिकाप्रति नकारात्मक धारणा बनाउन नखोजेको उनले बताए । ‘कुनै पनि देशको आन्तरिक मामिला त्यहीँको देशले टुंग्याउनुपर्छ भन्नेमा अहिले पनि नेपाल सरकार र पार्टीको लाइन त्यही हो’, उनले भने, ‘क्युबाको पक्षमा त पुरै संसार छ । अमेरिकी नाकाबन्दीविरुद्ध राष्ट्र संघले प्रस्ताव पारित गरेको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*