ट्रम्पले इरानमाथि लगाइएका प्रतिबन्ध खुकुलो पार्ने संकेत दिए
एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति नरम नीति अपनाउने संकेत गरेका छन् । ट्रम्पले बुधबार इरानमाथि लगाइएका प्रतिबन्ध खुकुलो पार्ने संकेत गरेका छन् ।
बुधबार ह्वाइटहाउसमा सञ्चारकर्मीसँग बोल्दै राष्ट्रपति ट्रम्पले इरानमाथि लगाइएका प्रतिबन्ध खुकुलो पार्न सकिने बताएका हुन् । इरानमाथि लगाइएका प्रतिबन्ध हटाउने सम्भावन कति छ भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा संभावना रहेको र यसबारे आफूले सोचिरहेको ट्रम्पको जवाफ थियो । ‘यसबारे हुने विकासक्रम तपाईंले थाहा पाउनु हुनेछ’, उनले भने ।
मंगलबार मात्रै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पदबाट बर्खास्त गरेका थिए । बोल्टनका नीतिसँग आफू असहमत रहेको भन्दै ट्रम्पले उनलाई पदबाट हटाएका हुन् ।
अमेरिकाको प्रत्यक्ष संलग्नता रहेका अफगानिस्तान, उत्तर कोरिया र अरु सङ्कटग्रस्त स्थानका समस्या सुल्झाउन बोल्टन बाधक बन्दै गएको ह्वाइट हाउसको ठम्याई छ । त्यस्तै इरानप्रति कडा नीति अपनाउनेबारेमा बोल्टनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
इरानमाथि अधिकतम दबाब दिने नीति लिएको ट्रम्प प्रशासन पछिल्लो समय नरम बन्दै गएको देखिन्छ । राष्ट्रपति ट्रम्पले इरानी राष्ट्रपति हसन रोहानीसँग वार्ता गर्न आफू तयार रहेको कुरा दोहोर्याउँदै आएका छन् । तर इरानले भने अमेरिकी प्रतिबन्ध हटेपछि मात्रै ट्रम्पसँग द्धिपक्षीय कुराकानी हुने बताउँदै आएको छ ।