सत्तारुढ समाजवादी पार्टीले पहिचानमा आधारित पार्टी संरचनाको अभ्यास सुरु
काठमाडौं । सत्तारुढ समाजवादी पार्टीले पहिचानमा आधारित पार्टी संचरनाको अभ्यास सुरु गरेको छ । उक्त पार्टीको विधानअनुसार अभ्यास गरिएको पहिचानमा आधारित राष्ट्रिय समितिको अवधारणाअनुरुपको संगठनात्मक संरचनाको अभ्यास सुरु गरेको हो ।
शनिबार ललितपुरमा पार्टीको ३ नं. प्रदेश समायोजन कार्यदलले आयोजना गरेको कार्यक्रममा ३ नं. प्रदेश समिति, नेवाः राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति र शिल्पि विशेष प्रदेश समिति घोषणा गरिएको छ । त्यस्तै जातीय संगठनहरु समाजवादी तामाङ सङ्घ र समाजवादी नेवाः संघ घोषणालगत्तै पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ नेतृत्वलाई शपथ पनि गराएका छन् ।
‘संघीयता, सुशासन, समृद्धि र समाजवादलाई मुल लक्ष्य बनाएको समाजवादी पार्टीले पहिचानमा आधारित राष्ट्रिय समितिको अवधारणामा संगठन बनाउने नीति लिएको पार्टीका केन्द्रीय सदस्य रोशन पोखरेलले जानकारी दिए ।
कार्यक्रमबाट ३ नं. प्रदेशको नेतृत्वमा सोनामसिङ स्याङ्तान छानिएका छन् । ११ सदस्यीय सचिवालय समेत बनाइएको प्रदेश पार्टीको मुख्यसचिवमा मोहन बराइली चयन भएका छन् ।
नेवाः राष्ट्रिय समितिको अध्यक्षमा मनरत्न शाक्यले जिम्मेवारी पाएका छन् । ताम्सालिङ राष्ट्रिय समितिको अध्यक्षमा कृष्णकुमार घलान र मुख्यसचिवमा वीरबहादुर तामाङले जिम्मेवारी पाएका छन् ।
त्यसैगरी शेर्पालुङ राष्ट्रिय समन्वय समितिको संयोजकमा दावा छिरिङ शेर्पाले जिम्मेवारी पाएका छन् । उनी तत्कालीन संघीय समाजवादी फोरमका नेता हुन् । तत्कालीन नयाँ शक्तिबाट नेतृत्व छनौट भइनसकेको जनाइएको छ ।
शिल्पि विशेष प्रदेश समितिको संयोजक दलमर्दन कामी र दानबहादुर नेपाली मुख्यसचिव बनेका छन् । समाजवादी नेवाः संघमा अध्यक्षमा सत्यनारायण डंगोल र महासचिवमा सुरेश खड्गी चयन भएका छन् ।
समायोजन कार्यक्रममा अतिथिमा वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष नवराज सुवेदी लगायतका नेताहरु उपस्थित रहेका छन् । साझापाेष्टबाट