बाबुराम भट्टराई पनि सत्ता पक्षीय सांसदको लाइनमा बस्न थाले
काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि सत्ता पक्षीय सांसदको लाइनमा बस्न थालेका छन् ।
तत्कालीन नयाँ शक्ति पार्टी, नेपालका संयोजकको रुपमा यसअघि भट्टराई प्रतिपक्षी सांसदको लाइनमा बस्दै आएका थिए । तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति नेपाल पार्टीबीच एकता भएर समाजवादी पार्टी बनेपछि पनि उनी प्रतिपक्षीको लाइनमा बसिरहेपछि यसअघि सांसद विरोध खतिवडाले उनीमाथि व्यंग्य गरेका थिए ।
भट्टराई सत्तापक्षको लाइनमा बस्न थालेपछि खतिवडाले बधाई दिएका छन् । विवाहपछि महिला माइतिकै घरमा बसेको भन्दा श्रीमानसँग बसेको सुहाउने भन्दै व्यंग्य खतिवडाले व्यंग्य गरेका हुन् ।
बिहीबार सभामुख कृष्णबहादुर महराले दुई पार्टीबीच एकता भएको पत्र निर्वाचन आयोगले संघीय संसदलाई पठाएको पत्र पढेर सुनाएका छन् ।
स्मरणीय छ, समाजवादी पार्टीबाट पार्टी अध्यक्ष उपेन्द्र यादवसहित तीनजना सरकारमा छन् । पार्टी एकताको बेला यादवले सरकार छाड्नुपर्ने माग तत्कालीन नयाँ शक्तिले गरेको थियो । अनुकूलतामा सरकारबाट बाहिरिने सहमति भए पनि अहिलेसम्म समाजवादी पार्टी सरकारबाट बाहिरिने चर्चा पनि चलेको छैन ।