ओली, दाहाल र देउवालाई खुकुरी देखाएर मार्छु भन्ने युवक पक्राउ
काठमाडौं । प्रहरीले खुकुरी देखाएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भन्ने एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले बाराका सागर क्षेत्रीलाई पक्राउ गरेको हो । क्षेत्रीले फेसबुकमा खुकुरी देखाएर भिडियो बनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवालाई काट्छु भनेका थिए । पक्राउ परेका क्षेत्रीमाथि महानगरीय अपराध महाशाखाको टोली अनुसन्धान अगाडि बढाएको छ ।
क्षेत्रीले नुवाकोटका पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई फसाउन खोजेको भन्दै भिडियोमा अश्लील गाली समेत गरेका थिए ।
प्रधानमन्त्री ओली, प्रचण्ड र देउवालाई अपशब्द बोल्दै भिडियोमार्फत खुकुरी देखाउँदै काट्छु भनेका सागरलाई पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।