सबै राष्ट्रियता जोड्ने माध्यम संघीयता : बाबुराम भट्टराई
काठमाडौं। समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपाल बहुराष्ट्रिय मुलुक भएको र सबै राष्ट्रियता जोड्ने माध्यम संघीयता भएको बताएका छन् ।
सोमबार धर्म–हिरा प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित धर्मरत्न यमीको १०४ औँ जन्म स्मृति समारोहमा अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । जंगबहादुर राणाले नेपालको राष्ट्रियतालाई जातियतामा विभाजित गर्ने काम गरेको समेत भट्टराईको भनाइ छ ।
‘जंगबहाुदर राणाले नेपालको राष्ट्रियतालाई जातियतामा विभाजन गर्ने काम गर्नुभयो । जसकारण अहिले मुलुक जातियतामा विभाजित भएको छ,’ भट्टराईले भने, ‘यसलाई जोडन हामीले अहिले संघीय राज्यको अभ्यास गरिरहेका छौं।’
तर संघीयता कार्यान्वयनमा केही कमजोरी देखिएको अध्यक्ष भट्टराईको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले रामको भन्दा पनि हनुमानको दोस्त बन्ने प्रवृत्ति बढेको समेत बताए । ‘उहाँले (धर्मरत्न यमी) भन्नु हुन्थ्यो दोस्त बन्नु छ भने रामको दोस्त बन्नु, हनुमानको दोस्त नबन्नु । तर यहाँ त रामको दोस्त भन्दा पनि हनुमानको दोस्त भन्ने प्रवृत्ति छ’, उनले भने ।
साथै अध्यक्ष भट्टराईले धर्मरत्न काँग्रेस, कम्युनिष्ट हुँदै पञ्चायतको नजिक हुन पुगेको पनि बताए । ‘उहाँ पहिले काँग्रेस हुनु भयो । काँग्रेस राष्ट्रियताको पक्षमा कमजोर देखिएपछि कम्युनिष्ट हुनुभयो । तर सरकार बन्ने गिर्ने कुरा हुन थालेपछि वाक्क दिक्क हुनुभएको कुरा उहाँको किताबमा पाइन्छ । त्यसपछि राजा महेन्द्र राष्ट्रियताका सवालमा खरो उत्र्रिनुभएको देखेर राजासँग पनि नजिक हुनुभयो,’ उनले भने, ‘उहाँको निधन हुँदा न उहाँ काँग्रेस हुनुभयो न कम्युनिष्ट हुनुभयो न पञ्चायत बन्नुभयो । उहाँ त कुनै वर्गको रहनुभएन । सबैको नजिक हुनुभयो, कसैको हुनु भएन ।’
अध्यक्ष भट्टराईले उनी लोकतन्त्रवादी, समाजवादी र राष्ट्रवाद हुँदा सबैसँग नजिक हुन पुगेको बताए । उनले भने, ‘नेपालको इन्द्रधनुष्य नै नेपालको राष्ट्रियता भन्ने उहाँको भनाइ थियो । हो पनि एउटा राज्यमा धेरै राष्ट्रियता हुन्छ । नेपाल बहुआयमिक राष्ट्रियता भएको राज्य हो ।’