अटेर गर्ने इन्स्टिच्यूट संचालक सत्याल पक्राउ, प्रशासनको अनुगमनमा भेटिनेलाई मुद्दा

निरन्तर न्यूज
२९ श्रावण २०७६, बुधबार १७:१७

हेटौँडा । प्रदेशको राजधानी हेटौंडाको मुख्य चोक स्कुलरोडमा विना अनुमति संचालित हेटौंडा जापान बिजनेस ट्रेनिङ स्कुलका संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

अबैध रुपमा कक्षा संचालन गरेको अवस्थामा हेटौंडा जापानका संचालक मध्येका एक एन्जल सत्याललाई प्रहरीले आज विहान पक्राउ गरेको बताएको छ ।

यसअघि प्रशासनले बन्द गर्नु भनेर बारम्बार लिखित सूचना निकाल्दा समेत अटेर गरि कक्षा संचालन गर्ने धेरै इन्स्टिच्यूट संचालकहरुलाई प्रहरी प्रशासनले पक्राउ गर्ने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए । यसै क्रममा यो अपरेशन शुरुवात मात्र रहेको र यसपछि आकस्मिकरुपमा यस्ता मिशन निरन्तर चलिरहने प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो । पक्राउ परेका सत्याल समाचार तयार पार्दा समेत प्रहरी हिरासतमा नै रहेको एसपी सिंहले बताउनुभयो ।

यस संस्थामा मकवानपुरका प्रमुख जिल्ला अधिकारि अस्मान तामाङ् आफैले अनुगमन गरेका थिए र  अनुगमनका क्रममा अबैध रुपमा कक्षा संचालन भैरहेको अवस्थामा सिडिओले भेटेका थिए।  उक्त  सिडिओले अन्तिम मौका दिएर छोडेपनि अटेर गरेपछि आज प्रहरीले पक्राउ गरेको छ।

युनिक अल्फा एजुकेशन कन्सल्टेन्सी प्रा.लि को पान नम्बर राखी हेटौंडा जापान बिजनेसको नामले यो सस्था अबैधरुपमा संचालन भैरहेको थियो । कुनैपनि निकायबाट भने यसले स्वीकृति नलिई शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धि गतिविधि संचालन गर्ने यस संस्थाले हाल जापानिज भाषा पढाइरहेको छ । श्रोतका अनुसार प्रति व्यक्ति २५ हजार रुपैयासम्म यसले उठाउँदै आएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पक्राउ परेका व्यक्तिलाई कानुनि कारवाही अघि बढाउन आफुले निर्देशन दिइसकेको बताए । प्रजिअ तामाङले कानून विपरीत इन्स्टिच्यूट सन्चालन गर्नेबारे प्रशासनले भित्रीरुपमा अनुसन्धान गरिरहेको बताउँदै अब छिट्टै अन्य यस्ता संचालक र इन्स्टिच्यूटमाथि सख्त कारवाही गरिने समेत बताए । अव अनुगमनमा भेटिएका इन्स्टिच्यूट संचालकहरुलाई मुद्दा लगाएर जेल समेत हाल्न सक्ने गरि कानूनि कारवाही सहितको योजनामा प्रशासन रहेको प्रजिअ तामाङले जानकारी दिए ।

हेटौंडामा शैशिक परामर्श, भाषा शिक्षण, पूर्वतयारी कक्षा, ट्युसनलगाएतका गतिविधि संचालन गर्ने इन्स्टिच्युट, कन्सल्टेन्सी ३ दर्जन भन्दा बढी छन् तर केहिले बाहेक अधिकांसले बिना दर्ता नै संचालन गरिरहेका छन् ।

कुनैपनि इन्स्टिच्युट कन्सल्टेन्सीले अनिवार्य रुपमा सम्बन्धित निकायबाट अनुमति लिएर मात्र संचालन गर्नुपर्ने प्रावधान भएपनि हेटौंडा जापान बिजनेसले अबैध रुपमा संचालन भई बिद्यार्थीबाट चर्को शुल्क उठाउदै आइरहेको छ ।

यस अघि शैशिक परामर्श, भाषा शिक्षण, पूर्वतयारी कक्षा, ट्युसनलगायतका गतिविधि संचालन गर्ने सस्थाले शिक्षा मन्त्रालयबाट अनिवार्य रुपमा स्वीकृति लिएर मात्र संचालन गर्नुपर्ने नियम थियो । तर अहिले शिक्षा मन्त्रालयले दर्ता प्रक्रिया बन्द गरेको छ तर प्रदेशको सामाजिक विकाश मन्त्रालयको शिक्षा शाखाले भने संचालनका लागि अनुमति दिन थालिसकेको छ । तर हेटौंडाका अधिकांस इन्स्टिच्युट र कन्सल्टेन्सी दर्ता र अनुमति बिनै संचालन भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*