परीक्षा हलबाटै प्रश्नपत्र आउट गर्ने चारजनालाई प्रहरीले पक्रियाे
धनुषा। एमबीएस परीक्षा हलबाटै प्रश्नपत्र आउट गर्ने चार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
परीक्षा हलभित्रैबाट म्यासेन्जरको प्रयोग गर्दै प्रश्नपत्र आउट गरी फोटोकपी गरिरहेको अवस्थामा जनकपुर उपमहानगरपालिका-४ बाट सोही ठाउँ बस्ने ३० वर्षीय लिलाराज शिवभक्ति लगायत ३ जनालाई आइतबार दिउँसो पक्राउ परेका हुन् ।
राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम बर्षको तथ्याङ्कशाष्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र आउट गरेको प्रहरीले फेला पारेको हो । उनीहरुले म्यासेन्जरबाट प्रश्नपत्र आउट गरी सोही ठाउँको सुजित कुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गराइरहेका थिए ।
सुराकीको आधारमा प्रहरीले फोटोकपी गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।