प्रदेश सरकारले सामुदायिक विद्यालयका विद्यार्थीकाे लागि बस खरिद गर्ने

निरन्तर न्यूज
२६ श्रावण २०७६, आईतवार १३:२६

हेटाैँडा । विद्यालय टाढा भएकै कारण समस्या भोग्दै आएका विद्यार्थी लक्षित प्रदेश ३ सरकारले बस खरिद गर्ने भएको छ । प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दस वटा विद्यालयका लागि बस खरिद गर्न लागेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।‘एक विद्यालय एक नर्स’को अवधारण ल्याएर सफल भएको मन्त्रालयले दोस्रो चरणमा विद्यालय जाँदा घन्टौं हिँड्नुपर्ने बाध्यतामा रहेका विद्यार्थीका लागि बस सुविधा उपलब्ध गराउन लागेको हो । मन्त्रालयले चालू आर्थिक वर्षमा प्रदेशका १० वटा सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउने सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

‘अहिले पनि सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी घन्टौं हिँडेर आउनुपर्ने बाध्यतामा छन् । उनीहरूलाई सहज रूपमा विद्यालयको पहुँच पु¥याउन बस खरिद गर्न लागेका हौं,’ मन्त्री दुलालले भने, ‘यसलाई हामी अघिल्ला वर्षमा पनि निरन्तरता दिन्छौं । यो वर्ष दस सामुदायिक विद्यालयलाई उपलब्ध गराउने मन्त्रालयको लक्ष्य छ ।’

विद्यार्थी कम र शिक्षक बढी भएका विद्यालय ‘मर्ज’ गर्दा विद्यार्थीलाई टाढाबाट आउनुपर्ने बाध्यता झनै बढेको मन्त्रालयले जनाएको छ । सडक पहुँच भएका विद्यालयलाई प्राथमिकता दिएर बस उपलब्ध गराइने मन्त्री दुलाले जनाए । यसले विद्यार्थीले विद्यालय जाँदा कष्ट बेर्होनु नपर्ने र समय पढाइमा ध्यान जाने उनको भनाइ छ । सामुदायिक विद्यालयमा बस उपलब्ध गराउनका लागि चालू आर्थिक वर्षमा २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यो रकमबाट मन्त्रालयले बस खरिद गरेर प्राथमिकताका आधारमा कार्यविधि बनाएर बस उपलब्ध गराउने जनाइएको छ । राजधानी दैनिकबाट लिइएकाे खबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*