मनहरी ३ का वडाध्यक्षले बलियो संरचनाको तीनवटा मात्रै योजना छाने

निरन्तर न्यूज
२५ श्रावण २०७६, शनिबार १९:११

मनहरी । आफ्ना जनताको मन बुझाउनका लागि जनप्रतिनिधिहरुले वडामा अनेक खालका योजनाहरु निर्माण गर्ने गर्दछन् । जथाभावी सानातिना योजना बनाएर कार्यान्वयन गर्दा न दीगो विकास भएको छ, न त नदेखिने काम नै हुने गरेको छ । देशभरका स्थानीय तहमा यस्तै समस्या देखिन्छ ।

तर चालू आर्थिक बर्ष २०७६/७७ का लागि मनहरी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मानबहादुर स्याङ्तानले दीगो विकास हुने गरी योजना बनाएको दाबी गरेका छन् । वडाको तर्फबाट गाउँपालिकाले बजेट सिफारिस गर्न अख्तियारी दिइएको बजेटबाट जम्मा ३ वटा ठूला योजना मात्रै निर्माण गरिएको वडाध्यक्ष स्याङ्तानले बताए ।

वडा नं ३ को भुन्द्रुङ–पाल्दमार जोड्ने पक्की पुल र हाँडीखोला–कालिदमार पक्की पुलका लागि एउटै योजना समेटेर वडा कार्यालयले १ करोड २२ लाख रुपियाँ बिनियोजन गरेको हो । बाँकी रकमबाट १५ लाखको डोठे सुकौरा खानेपानी योजना सञ्चालन हुने गरी योजना बनाइएको वडाध्यक्ष स्याङ्तानले बताए ।

‘हरेक बर्ष सयौँ योजनाहरु बनाएर बजेट छर्नुभन्दा एकै ठाउँमा बजेट हालेर बलियो संरचना बनाउनुपर्छ भन्ने धेरैले सुझाव दिए’, वडाध्यक्ष स्याङ्तानले भने–‘नेपाल कम्युनिष्ट पार्टीले समेत दीगो विकासका लागि सल्लाह सुझाव दिएकाले यस बर्ष तीनवटा मात्रै योजना छनौट गरिएको छ ।’

रजैयाबाट लामिटार हुँदै चकरी मकरी पुग्ने सडकलाई मनहरी गाउँपालिकाले महत्वाकाँक्षी योजनाका रुपमा अघि सारेको छ । ३७ करोडमा निर्माण हुने यो बाटोमा देखिएका साना खोलाहरुमा पुल हाल्नका लागि वडा कार्यालयको तर्फबाट तदारुकता देखाइएको हो । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त प्रयासबाट यो सडकलाई सम्पन्न गर्ने रणनीतिमा नेपाल कम्युनिष्ट पार्टीका जनप्रतिनिधिहरु लागेका छन् । सोही क्रममा मनहरी गाउँपालिका ३ लामिटार र वडा नं ४ को मसिने जोड्ने ट्वाङ्ग्रा खोलामा पनि बलियो पुल बनाउन माग गरिएको र वडाको तर्फबाट समेत बजेट छुट्याएकामा अन्य निकायसँग पनि बजेट बिनियोजन गर्नका लागि सहजीकरण भइरहेको स्थानीय युवा प्रकाश थापाले जानकारी दिए ।

मनहरी गाउँपालिकाले बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पाँच बर्षभित्रमा पिच हुने गरी लामिटार–चकरीमकरी सडक खण्डमा बर्षेनी लगानी गरिरहेको छ । १७ किलोमिटर लम्बाई रहेको यो सडक खण्डलाई निर्वाचनका बेला नेपाल कम्युनिष्ट पार्टीले महत्वाकाँक्षी योजनाको रुपमा लिएको थियो । पूर्व पश्चिम राजमार्गको समेत बाइपासको रुपमा रहने यो बाटो निर्माण गर्नका लागि ३८ करोड रुपियाँ लाग्ने डिपिआरमा उल्लेख छ । १७ किलोमिटर सडक खण्डको पिच हुँदा चौडा साँढे ७ मिटर रहने डिपिआरमा उल्लेख छ ।

हालसम्म मनहरी गाउँपालिकाले आर्थिक बर्ष २०७४/७५ मा १ करोड, २०७५/७६ मा ५० लाख, डिभिजन सडक कार्यालय मार्फत संघीय सरकारले आव २०७५/७६ मा १ करोड र अहिले अर्थ मन्त्रालयमार्फत थप गरिएको २ करोड समेत गरी कूल ४ करोड ५० लाख लगानी भइसकेको छ ।

निर्वाचनका बेला व्यक्त भएको प्रतिबद्धतालाई समेत ध्यानमा राखी यो सडक खण्ड निर्माणका लागि तीनै तहका सरकारले भूमिका खेलिरहेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । यो सडक निर्माणका लागि तत्कालीन संविधानसभा सदस्य राजाराम स्याङ्तानले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत ३० लाख रुपियाँ लगानी गरेपछि रजैयादेखि हाँडीखोला हुँदै मकरी पुग्ने सडक खण्डको ट्रयाक ओपन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*