अख्तियारले भ्रष्टाचार नियन्त्रण र सुशासनबारे सचेत गरायो
हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको आयोजनामा तथा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मकवानपुरको सहआयोजनामा जिल्लाभरीका जनप्रतिनिधिहरु भेला गराएर भ्रष्टाचार नियन्त्रण र सुशासनका बारेमा बहस चलाइयो । बहसमा सहभागि वक्ताहरुले अख्तियारको राम्रा र नराम्रा पक्षको बारेमा जिज्ञासा राखे ।
कमा गर्ने जनप्रतिनिधिहरुलाई अख्तियारमा परेको बेनामे उजुरीले समस्या बनाएको बताए । निर्वाचनमा पराजय भोगेकाहरु सुनियोजित ढंगले लाग्दा पनि विकासका कामले तीब्रता लिन नसकेको अनुभुति सहभागि जनप्रतिनिधिहरुले राखे ।
आयोगको कार्यालय हेटौँडाकी प्रमुख हुमकला पाण्डेले देशैभरी अख्तियारको गतिविधि काम कारवाहीका बारेमा सबैलाई बुझाइन् । जनप्रतिनिधि लगायत थुप्रै जिम्मेवारी कर्मचारीहरु पनि भ्रष्टाचारमा संलग्न तथा विचौलियाको संगतमा परिरहेको तथ्यांकसहितको कार्यपत्र प्रस्तुत गरेर सबैलाई सचेत गराइन् ।
सहभागि मध्येबाटै अख्तियारमा काम गर्नका लागि एउटा छुटै आयोग मार्फत पदपुर्ति गर्नुवर्ने व्यवस्था गर्न सके अख्तियार अझै चुस्त र दुरुस्त हुन सक्ने सुझाव पनि दिएका थिए ।
यस्ता प्रश्नलाई सम्वोधन गर्दै आयुक्त गणेश राज जोशीले लामो समय आयोगमा नै रहने निश्चित भएमा जागिर अवधिमा अनियमितता गर्नेसँग साँठगाँठ हुने चुनौति रहने बताएका थिए ।
आयोगमा परेका उजुरीका बारेमा आफूहरुले सुक्ष्म अनुसन्धान पछि मात्रै कार्वाहीका लागि अघि बढ्ने र अनुसन्धानका क्रममा उजुरी मध्ये ४० प्रतिशत उजुरी मनगढन्ते र व्यक्तिगत रिस साँध्न प्रयोग भएको आफूहरुले पाएको बताएका छन् । यदि जानाजान गल्ती गरी अख्तियारी दुरुपयोग गरेमा आयोगले कसैलाई नछोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा हेटौंडा उपमहानगपालिकाका मेयर हरिबहादुर महतले पहिला आफैबाट शुद्धिकरणको थालनी गर्नुपर्ने बताएका छन् ।
बेनामी उजुरी लिन बन्द गर्नु पर्ने भीमफेदी गाउँपालिका प्रमुख हिदम लामाले बताएका छन् । यदि कुनै जनप्रतिनिधिहरुले कमजोरी गरेको पाईएमा बेनामी होईन, उजुरीकर्ताले आफ्नो नाम नै उल्लेख गर्न पनि हिम्मत गर्नुपर्ने बताएका छन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामा∙ले सबै सार्वजनिक निकायहरुले आफ्ना गतिविधि सार्वजनिक गर्न सकेमा अनियमितताको दर घट्ने विश्वास व्यक्त गरेका छन् । प्रजिअ तामा∙ले आफ्नो कार्यकालको गत एक बर्षको सबै गतिविधि गत साता पत्रकार सम्मेलन मार्फत सार्वजनिक पनि गरिसकेका छन् ।
हेटौँडा उपमहानगरपालिका वार्ड नं ५ का वडा अध्यक्ष राजेश बाँनीयाले अख्तियारले पनि बेनामे उजुरी दिएर दुःख दिनेहरुलाई कारवाहिको दायराममा ल्याउनुपर्ने माग गरे अन्यथा विकासमा लाग्ने जनप्रतिनिधिहरुको मनोबल घट्ने र काममा चुस्तता नआउने बताए ।
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, मकवानपुर गढि गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, वकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखे, इन्द्रसरोवरका अध्यक्ष जीवन लामा, बखान सिं पाख्रीन, दिल बहादुर स्याङतान, निगरानी संस्थाका विजय सिग्देल, नविन सिग्देल, पत्रकार प्रताप विष्ट, देवराज पन्त लगायतले अन्तरक्रियामा आफ्ना जिज्ञासा व्यक्त गरेका थिए ।
कार्यक्रममा आयोगको कार्यालय हेटौँडाकी प्रमुख हुमकला पाण्डेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । भ्रष्टाचार नियन्त्रण गर्नेबारे सचेत रहन कार्यपत्रमा भएका गतिविधिहरुमा समेटिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको अन्तक्र्रिया कार्यक्रममा सहभागी गाउँपालिका अध्यक्ष, वडा अध्यक्षहरुले स्थानीय तहमा राम्रो मनसाय लिएर नियमसंगत कार्य सम्पादन गर्दा पनि दुख पाएको, सरकारी निकायमा जनप्रतिनिधिहरुले पनि दुख पाएको गुनासो गरेका थिए ।
अन्तरक्रियामा मकवानपुर जिल्लाका १० वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत, जिल्ला समन्वय समितिका उपप्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।