प्रदेश ३ का विस्थापितलाई राहत रकम उपलब्ध गराउने

निरन्तर न्यूज
२२ श्रावण २०७६, बुधबार ०५:५०

हेटौंडा । ३ नम्बर प्रदेश विपद व्यवस्थापन समितिले बाढी, पहिरो, डुवान लगायतका घटनामा परि विस्थापित भएकाहरुलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । समितिका अध्यक्ष ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रदेशका बाढी, पहिरो तथा डुवानमा परेर विस्थापित भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

अबिरल वर्षका कारण आएको बाढी, पहिरो, डुवान लगायतको घटनामा परि खाद्यान्न, लत्ताकपडालगायत घर पुर्ण रुपमा नष्ट भएका वा पुर्ण नष्ट नभए तापनि संभावित खतराबाट जोगीन अन्यत्र सर्नु पर्ने वा विस्थापित भई सुरक्षित स्थानमा नयाँ आश्रय स्थल निर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई प्रति परिवार १ लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । समतिले राहत रकम तत्काल उपलब्ध गराउन कार्यकारी समितिलाई निर्देशन समेत दिएको छ ।

त्यस्तै बैठकले मकवानपुर, सिन्धुली, दोलखा र ललितपुर जिल्लाका बाढी पहिरो डुवान लगायत घटनाबाट अति प्रभावित स्थानिय तहहरु पहिचान गरि ती स्थानीय तहहरुमा भएको खानेपानी, सिंचाई, सडक, विद्यालयलगायतको भौतिक संरचनाको क्षति विवरण सम्बन्धीत जिल्ला विपद व्यवस्थापन समिति मार्फत माग गर्ने समेत निर्णय गरेको छ ।

साथै जिल्ला विपद व्यवस्थापन समितिबाट प्राप्त क्षतिको विवरणका आधारमा पुननिर्माणका लागि अधिकतम ५० लाखसम्म स्थानिय तहलाई उपलब्ध गराउने निर्णय गरेको कार्यकारी समितिका अध्यक्ष ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।

बैठकले विपदको सामनामा गर्न सबै निकाय सामाजिक संघ संस्था, उद्योगी व्यपारि एवम् सर्वसाधारणलाई सहयोगकालागि सार्वजनिक आव्हान गर्ने निर्णय समेत गरेको मन्त्री जम्कट्टेलले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*