अख्तियारले रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्याे
काठमाडौै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले रौनियारविरुद्ध १ करोड २८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको हो । रौनियारले होस्टल र फार्मेसी भवन निर्माण गर्दा ठेकदारसँग पटक-पटक गरी १ करोड २८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले बताएको छ ।
अख्तियारका अनुसार उपकुलपति रौनियारविरुद्ध १ करोड २८ लाख विगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ । त्यस्तै उनका भतिज रामहरि रौनियारविरुद्ध ८ लाख रुपैयाँ विगो दावीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
रौनियारले होस्टल र फार्मेसी भवन ठेक्कामा लिने श्यामसुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्र्याक्टर गिना कन्स्ट्र्क्सन कम्पनीका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोविलाइजेसन रकमको भुक्तानी दिँदा र विभिन्न मितिमा रनिङ विलको भुक्तानी दिँदा पटक पटक कमिसनवापत घुस लिएको अडियोसहित अख्तियारमा उजुरी परेको थियो ।
त्यस्तै उक्त भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि ठेकदार कम्पनीका झालाई बोलाई ८ लाख रुपैयाँ घुस मागेको उजुरी सूचना पाएपछि अख्तियार टोलीले रौनियार र प्रतिष्ठानमा कार्यरत उनका भतिज डा. रामहरि रौनियारलाई घुससहित पक्राउ गरेको थियो ।