किशोरीको शवको कंकाल जंगलमा फेला

निरन्तर न्यूज
१९ श्रावण २०७६, आईतवार १४:४६

काठमाडौं । बाजुरामा जेठको पहिलो हप्तादेखि बेपत्ता एक किशोरीको शवको कंकाल जंगलमा फेला परेको छ ।

बाजुराको हिमाली गाउँपालिका वडा-१ की १६ वर्षीया बासमति भण्डारीको कंकाल जंगलमा फेला परेको हो । हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर नजिकै कर्णाली किनाराको जंगलमा भण्डारीको शवको कंगाल फेला परेको प्रहरीले बताएको छ ।

कर्णाली नदीमा माछा मार्न गएका एक स्थानीयले कंकालसहितको शव देखेपछि आफन्तलाई खवर गरेका थिए । लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

कपडा र जुत्ताबाट मृतक बासमति भण्डारी रहेको खुलेको थियो । कपडा र जुत्ताबाट उक्त कंकाल बासमतिको नै रहेको आफन्तले बताएका छन् ।

मृतक भण्डारी गत जेठ ६ गतेदेखि हराइरहेकी थिइन् । उनी जेठमा भएको गाउँपालिका स्तरीय राष्ट्रपछि रनिङ्गशिल्ड प्रतियोगिता खेल्न धुलाचौर आएका बेला बेपत्ता भएकी थिइन् । विद्यालयका शिक्षक र अन्य साथीहरुसहित प्रतियोगिता खेल्न आएकी भण्डारी हराएकी थिइन् ।

भण्डारीका परिवारले ७ गते नै उनी हराएको भनेर प्रहरीसमक्ष जानकारी गराएका थिए । गाउँपालिकाको नजिकैको जंगलमा अढाई महिनापछि मात्र उनको शव फेला परेको हो ।

भण्डारीले आत्महत्या गरेको वा उनको हत्या भएको भनेर खुल्न सकेको छैन । आइतबार कंकालको पोष्टमार्टम भएको छ । बासमतिका आफन्तले घटनाको अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*