प्रहरी कार्यालयमा थन्किएका थोत्रा सवारीसाधन अदालतको निर्णय पर्खिदै छन्
हेटौँडा । विगत ६ वर्षभन्दा अघिदेखि मकवानपुर जिल्लामा रहेका प्रहरी कार्यालयहरुमा थन्किएर बस्दा जीर्ण अवस्थामा पुगेका सवारी साधन हरेक वर्ष अदालतको लिलामी आदेशको पर्खाइमा रहेका हुन्छन् ।
यसै क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेका साना सवारी साधन करिब जीर्ण बन्दै गएको छ ।
ठूला सवारी साधन राख्ने स्थान नभएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर नजिकै रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राख्ने गरेको छ ।
क्षेत्रफलको हिसाबले ठूलो परिसर रहेको इलाका कार्यालय पशुपतिनगर हेटौँडा औद्योगिक क्षेत्रको जग्गामा रहेको छ ।
पुरानो जमानाको प्रहरी कार्यालय रहेको उक्त घरमा लागु औषध मा संलग्न देखि दुर्घटना भएका सवारी साधनलाई राख्दा कार्यलयको ग्यारेज जस्तो देखिन्छ ।
पशुपतिनगर इलाकामा मात्र होइन ट्राफिक कार्यालय सहित जिल्लाका मनहरी, पालुङ, नेवारपानी लगायत राजमार्गसँगै रहेका युनिटमा समेत यस्ता सवारी साधन थन्किएर बसेको वर्षौँ भैसकेको छ ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयहरु, वडा प्रहरी कार्यालय लगायत प्रहरीका विभिन्न इकाइहरुमा अदालतको आदेशको पर्खाइमा उक्त सवारीसाधनहरु थन्किएर बसेको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो । आपराधिक गतिविधि, दुर्घटना तथा कानून वर्जित कार्यमा संलग्न सवारीसाधनहरु सोसँग सम्वन्धित मुद्दाको किनारा नलागेसम्म ती सवारीसाधनहरु प्रहरीकै जिम्मामा रहने भएकाले यसको संख्या दिन–प्रतिदिन थपिदै गएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।
अदालत परिसरमा रहेको पुरानाको हकमा लिलाम प्रक्रिया शुरु गरिसकेको र यही क्रमले जम्मा भएका ७२ वटा मोटरसाइकल लिलाम गर्न योग्य रहेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार केशव राज कौशिकले जानकारी दिनुभयो । विगत ६ वर्षदेखि कुनै पनि सामानहरु सडाउने तथा लिलाम गर्ने कार्य नभएको कारणले गर्दा जिल्ला अदालत तथा प्रहरी कार्यालय परिसरमा जीर्ण बन्दै गएको बताउँदै उनले २०७६ मंसीर सम्ममा जिल्ला अदालत परिसरमा रहेका सबै सवारीसाधनहरु लिलाम गरिसक्ने र त्यसपछि प्रहरी कार्यालयमा भएका सवारीसाधनहरुको समेत प्रक्रियामा अघि बढाइने तयारी रहेको जानकारी दिनुभयो ।
२०७७ साउनबाट न्यायपालिकाले चौथो पञ्चवर्षिय रणनीतिक योजनाले लक्ष्य लिएको बताउँदै श्रेस्तेदार कौशिकले जुन अभियोगमा जे जे जफतको दाबी आउँछ त्यस्ताको हकमा तत्काल लिलाम गर्ने, सोही व्यक्तिलाई दिने लगायतको व्यवस्थाको शुरुवात हुने लागेको समेत बताउनुभयो ।
मकवानपुरमा मात्रै प्रहरी कार्यालयको परिसर ओगटेर बसेका साना तथा ठूला सवारीसाधनहरु करीब ३ सय ५० रहेको प्रहरीको तथ्यांकमा छ । त्यस्तै अदालत परिसरमा १ सय ५० वटा मोटरसाइकल रहेको छ ।
सवारी ज्यान मुद्दा, लागुऔषध, चोरी, हातहतियार तथा खरखजाना, अपहरणलगायतमा प्रयोग भएका सवारी साधनहरु बरामद हुने गरेको प्रहरीको भनाइ छ । यसरी थन्किएर बसेका सवारीसाधनहरुको सम्वन्धित जिल्ला अदालतले मात्रै प्रक्रिया पु¥याइ लिलाम गर्न पाउने प्रावधान रहेको छ ।
अब २०७७ साउनदेखि आउने अदालतको नयाँ नीतिले जफत गरिएको साधनहरुलाई करिब २ महिना सम्मको समय सिमा भित्र लिलाम हुने गरि कानून बनेर आउन सके जीर्ण सवारी साधन प्रहरी कार्यालय देखि अदालत परिसर सम्म सयौँको संख्या थन्किएर बस्ने समस्याको हल हुने थियो ।