ट्राफिक नियम उल्लंघन गरे अब सडकमै कारबाही

निरन्तर न्यूज
१९ श्रावण २०७६, आईतवार ०८:४८

सुनसरी । प्रदेश १ ट्राफिक प्रहरीले मादक पदार्थ पिएर सवारी साधन तीव्र गतिमा कुदाउने र राजमार्गमा जथाभावी पार्किङ गर्नेलाई यसै सातादेखि ‘स्पट’ मै प्रमाणपत्र दिने तयारी गरेको छ । प्रमाणपत्रमा सवारी चालकले कति मात्रामा मापसे गरेको र कति स्पिडमा कुदाएको छ भनेर प्रिन्ट कागजमै तथ्यसहित उल्लेख हुने छ । तथ्यसहितको कागजी प्रमाणपत्र दिएर स्पटमै नियम अनुसार जरिवाना गर्ने प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

सडकमा मापसे गरेर सवारी साधन जथाभारी कुदाउनेहरुलाई अचानक ट्राफिक प्रहरीले फेला पारेमा आफूले ‘अलिकतिमात्र’ मापसे गरेको भनेर उम्किन खोज्छन्। ट्राफिक प्रहरीले यसअघि प्रयोगमा ल्याएको ब्रेथलाइजरले यति नै मात्रामा मापसे गरेको भने प्रिन्ट कागज दिन सक्दैन थियो। इटहरीस्थित प्रदेश १ का ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक भीम दाहालले भने, ‘प्रदेश १ मा अब कुनै पनि सवारी चालक ट्राफिक नियम उलंघनबाट बच्न सक्दैन। सवारी दुर्घटना कम गर्न हामी आधुनिक उपकरणले युक्त भएर सडकमा उत्रेका छौं।’

प्रहरी उपरीक्षक दाहालले धरानका लागि सोमबारकै साँझदेखि आधुनिक ब्रेथलाइजर प्रयोग गर्न पठाइसकिएको बताए। उनकाअनुसार सवारी दुर्घटना कम गर्न प्रदेश सरकारले ७ थान आधुनिक राडार गन, ३० थान ब्रेथलाइजर रसय थान व्हिल लक उपकरण उपलब्ध गराएको छ। उनले भने, ‘पहिले हामी उपकरण र प्रविधिमा पछाडि थियौँ। अब कसैले झुक्याउन सक्दैन।’ सवारी साधनको गति मापन गर्ने राडार गन र ब्रेथलाइजरले तत्काल प्रिन्ट गर्ने सुविधा पनि छ।

प्रदेश सरकारले ट्राफिक प्रहरीलाई गत आइतबार २४ लाख ४३ हजार ४ सय रुपैयाँका आधुनिक ब्रेथलाइजर उपकरण, ४८ लाख १७ हजार १ सय ९० रुपैयाँ मूल्यका ७ थान राडर गन र ४ लाख २९ हजार ४ सय मूल्यका १ सय थान ह्विल लक दिएपछि ट्राफिक प्रहरीको मनोबल बढेको ट्राफिक प्रहरी प्रमुख दाहालले बताए। यसअघि ट्राफिक प्रहरीसँग ५१ वटा ब्रेथलाइजर भएपछि आधा दर्जन उपकरणमात्र चालु अवस्थामा थिए। त्यस्तै चार थान राडार गन पनि गुणस्तरीय नभएकाले हाइवेमा ओभर स्पिड कुदाउनेलाई कारबाही गर्न गाह्रो भएको थियो।

ट्राफिक प्रहरीले जथाभाबी पार्किङ गरिएका सवारी साधनको व्हिल लक गरेर नियन्त्रणमा लिने पनि जनाएको छ। ट्राफिक प्रहरीलाई आइतबार मात्र ७७ लाख ९ हजार ९ सय ९० रुपैयााका आधुनिक उपकरणहरु प्रदेश नं.१ सरकारका आन्तरिक मामिला कानुन तथा मन्त्री हिक्मत कार्कीले बितरण उपलव्ध गराएको ट्राफिक प्रमुख दाहालले बताए।

प्रदेश सरकारले उपलब्ध गराएका ती उपकरणहरु प्रदेश १ का प्रमुख सहरहरु धरान, इटहरी, विराटनगर, बिर्तामोड, दमकलगायतमा आवश्यकता अनुसार दैनिक प्रयोग गरेर ट्राफिक नियम उलंघन गर्नेलाई कडा कारबाही गर्ने र सवारी दुर्घट्नामा कमी ल्याउने मुख्य उदेश्य रहेको दाहालले बताए। कान्तिपुर दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*