नेकपा मकवानपुरको ४८ सदस्यीय जिल्ला सचिवालय चयन
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको आज बसेको जिल्ला कमिटी बैठकले ४८ जनाको जिल्ला सचिवालय तोकेको छ । तत्कालिन माओबादी र तत्कालिन एमालेमा रहेका सचिवालय सदस्यलाई घटाएर ४८ सदस्य बनाइएको बैठकमा सहभागि नेकपाका एक नेताले बताए ।
४८ सदस्यीय जिल्ला सचिवालयमा २६ जना तत्कालिन एमाले र २२ जना तत्कालिन माओबादीका तर्फबाट तोकिएको समेत नेताले बताए ।स्थानीय तहमा कमिटि निर्माण गर्न एक महिनाको समय तोकेको छ ।
तत्कालिन एमालेमा ३४ जनाको जिल्ला सचिवालय सदस्य रहेको थियो । यता माओबादीमा भने ३३ जनाको जिल्ला सचिवालय रहेको थियो । दुबै तर्फबाट आफ्ना सचिवालय सदस्य घटाएर आज निर्णय गरिएको नेकपाले जनाएको छ । जिल्ला सचिवालय सदस्यहरु दुबै तर्फका पुरानैलाई प्राथमिकता दिइएको एक नेताले बताए ।
यसैगरी मकवानपुरका दशवटै स्थानीय तहमा तत्कालिन एमाले र तत्कालिन माओबादीका अध्यक्ष र सचिव रहने बिषयमा भाग लगाइएको छ । तत्कालीन एमालेले ६ वटा स्थानीय तहमा अध्यक्ष पाउने भएको छ भने माओबादीले ४ वटा स्थानीय तहमा अध्यक्ष पाउने निर्णय गरिएको सहभागि एक नेताले बताए ।
तत्कालिन एमालेले हेटौंडा उपमहानगरपालिका, बकैया, इन्द्रसरोवर, भिमफेदी, कैलाश र मकवानपुरगढी गाउँपालिकामा पार्टीको जिमेवारीमा अध्यक्ष पाउने भएको छ । तत्कालिन एमालेले अध्यक्ष पाएको स्थानमा स्वत माओबादीले सचिव पाउने निर्णय गरिएको छ ।
यसैगरी तत्कालिन माओबादीले थाहा नगरपालिका, बागमती गाउँपालिका, मनहरी गाउँपालिका र राक्सीराङ गाउँपालिकामा पार्टीको अध्यक्षको जिमेवारी पाउने छन् । ती नगरपालिका र गाउँपालिकामा तत्कालिन एमालेले सचिव पद पाउने भएको छ । पहिलेको पार्टी अनुसार भागवण्डा लगाइएपनि ब्यक्ति भने दशवटै स्थानीय तहमा तोकिएको छैन ।
नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको आजको जिल्ला कमिटी बैठकमा केन्द्रीय सदस्यहरु बिरोध खतिवडा, केदार न्यौपाने, डोरमणि पौडेल, रामेश्वर राना, कुमारी मोक्तान, प्रदेश ३ कमिटीका सदस्यहरु कृष्ण दाहाल, अनन्त पौडेल, प्रल्हाद लामिछाने, सर्केस घलान, ओम घलान, एकराज उप्रेती लगायतकाको सहभागिता रहेको थियो ।
आजको बैठकमा बिप्लप नेतृत्वको नेकपाका नेता ठाकुर सिंह थिङ सहित नेपाली काँग्रेस र नेकपा विप्लव नेतृत्यका नेताहरु सहित ३० जना नेकपामा प्रवेश गरेका छन् ।
जिल्ला कमिटी बैठकले निर्णय गरेका जिल्ला सचिवालय सदस्यहरुको नामावली