सावधान ! नचिनेका विदेशी कल नउठाउनु, कलब्याक नगर्नु: दूरसञ्चार
काठमाडौं । मोबाइल तथा ल्यान्डलाइन फोनमा विदेशका नम्बरबाट ‘स्क्याम कल’ आउन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले नचिनेका विदेशी नम्बरबाट आउने फोन नउठाउन र मिस्डकलको कलब्याक नगर्न प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले यस्ता कलको रेस्पोन्स नगरी सोझै प्राधिकरणमा खबर गर्न सबैलाई अपिल गरेको छ ।
विदेशका अपरिचित नम्बरबाट आउने मिस्डकल तथा फोनले प्रयोगकर्ता हैरान बनेपछि प्राधिकरणले यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित दूरसञ्चार सेवाप्रदायकहरूलाई यसको रोकथामका लागि निर्देशनसमेत दिएको छ ।
केही समयअघि मोबाइल प्रयोगकर्तामाझ त्रास फैलाएको विदेशका अपरिचित नम्बरबाट बारम्बार फोन तथा मिस्डकल आउने समस्या अहिले फेरि देखिन थालेको हो । कतिपय मोबाइल प्रयोगकर्ता यस्तो फोन आउँदा रातो देखिने र ‘स्क्याम कल’ भनेर आउने गरेको बताउँछन् ।
प्राधिकरणका अनुसार, यस्तो कललाई प्राविधिक भाषामा वान्गिरी स्क्याम भनिन्छ । विशेष गरी यस्तो कल प्रयोगकर्तालाई ठग्ने उद्देश्यले गरिन्छ ।
यसअघि, यस्तो कल उठाउने वा कलब्याक गर्नेको ब्यालेन्स चोरी हुने समस्या देखिएको थियो । प्रयोगकर्ता ठगिएपछि प्राधिकरणको पहलमा समाधान गरिएको थियो । प्राधिकरणले अहिले पनि समस्या समाधानका लागि पहल थालेको बताएको छ । यद्यपि, यसपटक आएका कलले कस्तो समस्या निम्त्याएको छ, पहिचान भइसकेको छैन ।