विप्लव समूहलाई वार्ताका लागि सरकारकाे यस्तो सर्त
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले वार्तामा आउनुअघि जनाउनु पर्ने प्रतिबद्धताको विषयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ती कुरा मान्न तयार भए चन्दको दलका नेता कार्यकर्तालाई आममाफी दिन सकिने बताए ।
दुवै पक्षबीच वार्ताको निम्ति प्रयास भइरहेको भन्ने खबरहरु आइरहँदा पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले ती बुँदा सुनाएका हुन् ।
त्यसमा चन्दको दलले अस्वीकार गर्दै आएका विषयहरू पनि छन् ।
अनौपचारिक वार्ता
प्रधानमन्त्रीका विश्वासपात्र मानिएका मन्त्री बाँस्कोटाले चन्दको दलसँग अनौपचारिक वार्ता भइरहेको कुरा अस्वीकार गरेनन् ।
त्यसका साथै उनले सरकार सदैव वार्ताको निम्ति तयार रहेको पनि बताए । तर उनले त्यसको निम्ति अहिलेसम्म नेत्रविक्रम चन्दको दलले अस्वीकार गर्दै आएका विषयमा प्रतिवद्धता आउनुपर्ने सर्त तेस्र्याए ।
र त्यस्तो प्रतिबद्धता आए आम माफी दिन सकिने पनि बताए ।
उनी भन्छन्, “शान्तिपूर्ण राजनीतिक प्रक्रियामा अवतरण हुने प्रतिबद्धता प्राप्त हुँदा हामी सधैँ स्वागत गर्नेछौँ । उहाँहरूले हिंसा छोड्यौ, संविधान मान्यांै र प्रतिष्पर्धामा आयांै भन्नुभयो भने एकै मिनेटमा कुरा मिल्छ ।’
उनले थपे, ‘कुनै वैरभाव पनि छैन पहिला केही बिगारेको थियो भने पनि भैगो नी त भन्न सकिने हुन्छ ।’
शंका
सरकारले वार्ताको वातावरण बनाउन यसअघि चन्दका दलका नेता कार्यकर्ता रिहा गरेको तर उनीहरू वार्तामा नआएको बताउने गरेको छ ।
त्यसैले मन्त्री गोकुल बाँस्कोटाको अभिव्यक्तिमा चन्दको दलको नियतप्रति शंका पनि झल्किन्छ ।
त्यस्को निम्ति उनले आफ्नै दलसँग एकीकरण गरेको तत्कालीन माओवादीको विगतको कदमलाई पनि उदाहरणको रूपमा प्रस्तुत गरे ।
‘वार्ता दाउपेचका लागि हुँदैन् । शक्ति सञ्चयका लागि वार्ता हुँदैन् । मुद्दा फिर्ता लिनुपर्ने मान्छे छोड्नुपर्ने र त्यसपछि उहाँहरू वार्तामा आउनु भएन भन्ने के गर्ने ?’ उनी भन्छन् ।
०५२ देखि ०६२ सम्मको शसस्त्र द्वन्द्वका क्रममा वार्तालाइ बेला बेलामा शक्तिसञ्चयका लागि प्रयोग गरिएको भन्दै उनले ’छक्कापन्जाको हिसावले’ वार्ता नहुने प्रष्ट पारे ।
नेत्रविक्रम चन्दले संविधान र अहिलेको शासन प्रणाली नमान्ने घोषणा गरेको छ ।
उसले सशस्त्र विद्रोह घोषणा नगरे पनि हिंसात्मक गतिविधिको जिम्मेवारी लिने गरेको छ ।
वार्ताको निम्ति पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइ र आफूमाथि लागेको प्रतिबन्ध फुकुवा हुनु पर्ने चन्दको दलले माग गर्दै आएको छ । बिबिसीबाट