नेकपाका ४ महत्वपूर्ण विभागको नेतृत्वबारे सहमति

निरन्तर न्यूज
४ श्रावण २०७६, शनिबार ०७:४७

काठमाडौं, ३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४ वटा महत्वपूर्ण विभागको नेतृत्वबारे सहमति भएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पूर्वएमालेको बैठकले ४ वटा विभागमा लैजाने नेताको नाम टुंग्याएको हो ।

छलफलबाट विदेश विभागको जिम्मेवारी वरिष्ठ नेता माधव नेपाललाई र संगठन विभागको जिम्मेवारी बामदेव गौतमलाई दिने सहमति भएको बालुवाटार स्रोतले बताएको हो ।

स्रोतका अनुसार यसअघि नेता नेपाल साविक पार्टीको विदेश मामला विभाग प्रमुख नै भएकाले उनलाई नै उक्त विभागको जिम्मेवारी दिइने सहमति भएको हो ।

संगठन विभाग प्रमुखमा किसान महासंघका अध्यक्षसमेत रहेका वामदेव गौतमलाई बनाउने तयारी भएको छ । यसअघि एमालेमा उक्त विभाग पृथ्वीसुब्बा गुरुङले सम्हालेका थिए ।

बर्दिया–१ बाट चुनाव हारेपछि जिम्मेवारीविहीन बनेका गौतमलाई नै संगठन विभाग दिनुपर्ने अडानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ, माधव नेपाल थिए । ओली पक्षले भने ईश्वर पोखरेललाई बनाउन चाहेको थियो ।

संगठन विभागको नेतृत्व लिन चाहेका पोखरेललाई स्कुल विभागमा पठाउने निर्णय भएको स्रोतको भनाइ ।

त्यस्तै नीति तथा प्रतिष्ठान विभागको जिम्मेवारी सचिवालय सदस्य झलनाथ खनालले सम्हाल्ने भएका छन्।

नेकपाका ३२ वटा विभागमध्ये १८ वटा पूर्व एमाले र १७ वटा पूर्व माओवादीलाई दिने सहमति यसअघि नै भइसकेको छ । पूर्व एमालेले पाएका १८ विभागमध्ये बाँकी रहेका विभागमा कसलाई लैजाने भनेर छलफल भइरहेको छ ।

पूर्वमाओवादीले पाएका १४ वटा विभागमध्ये आर्थिक र प्रचार विभागको जिम्मेवारी कसलाई दिने भनेर हाल छलफल भइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रचार वा आर्थिक विभागमध्ये एक रोज्न भनेका छन्।

तर श्रेष्ठले भने यी दुबै विभागमा त्यति रुची देखाएका छैनन् । श्रेष्ठले विदेश विभागमा रुची देखाएका थिए । तर उक्त विभाग एमालेले पाएपछि उनी प्रचार विभाग वा आर्थिक विभागको नेतृत्व लिन्छन्/लिदैनन् भनेर प्रस्ट भइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*