घुस लिने प्रहरी निरीक्षक विरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षक लालबाबु प्रसाद साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत निरीक्षक साहले लागू औषध मुद्दामा पक्राउ परेका व्यक्तिसँग घूस लिएको भन्दै मंगलबार अभियोग पत्र दायर भएको हो।
सेवाग्राहीलाई आफ्नो छोराको बैंक खातामा ७० हजार रुपैयाँ जम्मा गर्न लगाएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। अख्तियारको छानबिनले उनको अभियोग पुष्टि भएपछि अभियोग पत्र दर्ता गरिएको हो।
प्रहरी निरीक्षक साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुरमा लिई सकेको घुस जफत गरी कैद र विगो बमोजिम जरिवाना माग गर्दै मुद्दा दर्ता गरिएको हो।