युवतीलाई यातना दिने धर्तीमाता छुटिन्
काठमाडौं । युवतीलाई यातना दिएको आरोपमा थुनामा परेकी विष्णु कुँवर (धर्तीमाता) धरौटीमा रिहा भएकि छिन् ।
काठमाडौंको भद्रकाली मन्दिरमा युवतीलाई यातना दिने आफूलाई ‘धर्ती माता’ बताउने महिला विष्णु कुँवर थुनामुक्त भएकी हुन् । काठमाडौं प्रहरी परिसरले उनीमाथि दुई वटा मुद्दा चलाएको थियो । तर काठमाडौं जिल्ला अदालतले मंगलबार दुवै मुद्दामा धरौटी लिएर उनलाई छाड्न आदेश दिएको हो ।
जिल्ला अदालतले कुँवरसँग मुलुकी अपराध संहितामा भएको अपमानजन्य व्यवहार सम्बन्धी कसुरमा २० हजार र अभद्र व्यवहारसम्बन्धी कसुरमा १० हजार धरौटी माग गरेपछि उक्त रकम दिएर कुँवर रिहा भएकी हुन् ।
काठमाडौं प्रहरी परिसरको विशेष टोलीले उनलाई १३ असारमा बालाजुबाट पक्राउ गरेको थियो । कुँवरले सार्वजनिक स्थानमा भिडबीच युवतीलाई यातना दिएको भिडियो सार्वजनिक भएपछि ‘धर्तीमाता’ पक्राउ परेकी थिइन् ।