हेटौंडामा सिसि क्यामरा न्यून, सुरक्षा चुनौती बढ्दो
हेटौंडा । पछिल्लो समय मकवानपुरमा सुरक्षा चुनौती बढ्दो क्रममा छ । चोरी तथा सवारी दुर्घटनाको जोखिम उच्च हुँदै गएको छ । संघीयता कार्यान्वयनसँगै प्रदेश राजधानी हेटौंडाको जनघनत्व बढ्दो अवस्थामा छ । सोअी अनुपातमा सवारी साधनको चाप पनि बढ्दै गएको छ ।
बढ्दो सवारी चाप र शहरीकरणका कारण दुर्घटना, चोरी, लुटपाट र विभिन्न अपराधका घटनाको चुनौती बढेको प्रहरीको तथ्याङ्क छ । सुरक्षा चुनौतीको मध्यनजर गर्दै अनुसन्धानमा सहयोगी मानिएको सीसी क्यामेरा न्यून रहँदा समस्या भएको छ ।
घटनाको छानबिन तथा अनुसन्धानमा सार्वजनिक ठाउँमा राखिएका सीसी क्यामेरा निकै प्रभावकारी हुने प्रहरीको भनाइ छ । तर, हेटौंडामा पर्याप्त मात्रामा सीसी क्यामेरा नहुँदा शान्ति सुरक्षामा चुनौती बढिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडाको मुख्य सडक, चोक र राजमार्गहरूमा पर्याप्त सीसी क्यामेरा नहुँदा र भएका सीसी क्यामेरा पनि बिग्रिएका कारण शान्ति सुरक्षामा चुनौती हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । खड्काका अनुसार मकवानपुर जिल्लाभर सार्वजनिक स्थलमा १५९ वटा सीसी क्यामेरा छन् । तर तीमध्ये अधिकांश बन्द अवस्थामा छन् । मकवानपुरका विभिन्न स्थानमा जडान भएको ७९ थान सीसी क्यामेरा बिग्रिएको प्रहरी उपरीक्षक खड्काले बताए ।
हाल ८० वटा क्यामेरामात्रै चालु अवस्थामा रहेको उनले बताए । शान्ति सुरक्षालाई थप मजबुत बनाउन राजमार्ग क्षेत्र र बजार क्षेत्रहरूमा अझै २९ ठाउँमा एएनपीआर सीसी क्यामेरा जडान गरिनुपर्ने उनको भनाइ छ ।
प्रदेशको राजधानी रहेको हेटौंडामा मन्त्रालयहरू तथा भीआईपी र भीभीआईपी लगायतका आवास गृह, सरकारी तथा गैरसरकारी कार्यालय, औद्योगिक क्षेत्र र व्यापारिक निकायमा सीसी क्यामेराको अभावमा सुरक्षा चुनौती देखिएको प्रहरी उपरीक्षक खड्का बताउँछन् ।
प्रदेश मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाबाट सीसी क्यामेरा मर्मत र नयाँ जडानको काम गर्ने प्रतिवद्धता आएको तर, काम अघि बढ्न नसकेको प्रहरी उपरीक्षक खड्काले बताए । अपराध अनुसन्धान र दुर्घटनाको निष्पक्ष छानविन गर्न र समग्र शान्ति सुरक्षालाई चुस्त–दुरुस्त राख्न सीसी क्यामेरा अत्यन्तै आवश्यक रहेको उनको भनाइ छ । रातोपाटीबाट ।