ओलीको आलोचना गरेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित

निरन्तर न्यूज
२ माघ २०८१, बुधबार ०७:५३

काठमाडौं । कोसी प्रदेश सभाका पूर्वसांसद एवं एमाले नेता विमल कार्कीलाई पनि पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ।

पार्टी नेतृत्वको आलोचना गरेको आरोपमा उदयपुरका नेता कार्कीलाई कोसी प्रदेश कमिटीले ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको हो। निलम्बनमा परेका कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्दै आएका थिए।

पुस २७ र २८ मा विराटनगरमा बसेको कोसी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि पार्टीका जिम्मेवारीबाट मुक्त गरेको एमाले कोसीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए।

कार्कीलाई मंसिर १६ मा एमाले कोसीका अध्यक्ष खतिवडाले नै स्पष्टीकरण सोधेका थिए। पत्रमा तीन दिनभित्र जवाफ दिन भनिएको थियो ।

‘तपाईँको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरुद्ध लगातार अभिव्यक्तिहरू आइरहेको छ। त्यो फेसबुक आइडी तपाईँको हो कि होइन, हो भने तपाईँलाई किन कारबाही नगर्ने,’ अध्यक्ष खतिवडाले कार्कीलाई सोधेका थिए। कार्कीले तीन दिनको समय सीमा घर्केपछि मात्रै स्पष्टीकरण बुझाएका थिए। उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै प्रदेश कमिटीले कार्कीमाथि कारबाही गरेको हो।

कार्की वर्तमान मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमुख्यमन्त्रीहरू राजेन्द्र राई र शेरधन राईहरूसँगै अनेरास्ववियुमा काम गरेका एमालेका सक्रिय नेता हुन्।

उनी २०७४ को प्रदेशसभा निर्वाचनमा उदयपुरको क्षेत्र नम्बर १ (१) बाट निर्वाचित भएका थिए। पहिलो कार्यकालमा उनी जनसरोकारका सवालमा सक्रिय र प्रश्न उठाउने सांसदमा पर्थे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*