उपचारका लागि खालिदा एयर एम्बुलेन्सबाट लण्डन प्रस्थान
काठमाडौं । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जिया उपचारका लागि मङ्गलबार साँझ लण्डन प्रस्थान गरेकी छन् ।
ढाका ट्रिब्युनका अनुसार राति ११ः४६ बजे उनी हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका अमिरले पठाएको विशेष रोयल एयर एम्बुलेन्समा लण्डन प्रस्थान गरेकी हुन् ।
राती ८ बजे आफ्नो गुलशन निवासबाट उपचारका लागि लण्डनतर्फ निस्किएकी ७९ वर्षीय जिया कलेजो सिरोसिस, मुटुरोग, मृगौलालगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित छिन् । उनलाई उपचारका लागि लण्डन क्लिनिकमा भर्ना गरिने बताइएको छ ।
जियाका साथमा उनका चिकित्सक, परिवारका सदस्य र सहयोगीहरू थिए भने कतार सरकारका डाक्टरहरूको टोली पनि विमानमा सवार भएको थियो । जियालाई लण्डन लैजान कतारको रोयल एयर एम्बुलेन्स सोमबार साँझ ७ः४० बजे ढाका आइपुगेको थियो ।
जियालाई लण्डन लैजाने तयारी भएको सूचनासँगै उनले प्रस्थान गर्नुअघि ठूलो सङ्ख्यामा बीएनपी नेता र कार्यकर्ताहरू गुलशनस्थित जियाकोे निवास फिरोजा नजिकै भेला भएका थिए । एएनआई