सशस्त्रका चार डीआईजीको पदावधि एक वर्ष थप
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदावधि मंगलवार राति १२ बजेदेखि लागू हुनेगरी एक वर्ष थपेको छ ।
डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र शम्भु सुवेदीको कार्यकाल एक वर्ष लम्बिएसँगै यिनैमध्येबाट एक जनालाई आईजीपी बन्ने बाटो पनि खुलेको छ । गिरी सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख, ठाडामगर नम्बर ३ बाहिनी बागमती प्रमुख, नेम्वाङ नम्बर ४ बाहिनी गण्डकी प्रमुख र सुवेदी नम्बर १ बाहिनी कोशीका प्रमुख हुन्।
तीन वर्षपछि सशस्त्र प्रहरी बलको महानिरीक्षक बन्नेगरी आगामी वैशाखमा कमल गिरी र गणेश ठाडा मगरमध्ये एक जना एआईजीमा बढुवा हुनेछन् । एआईजी चन्द्रप्रकाश गौतम वैशाखमा अनिवार्य अवकास हुनेछन् । सशस्त्र प्रहरी नियमावलीको नियम ६५ मा सशस्त्र प्रहरी कर्मचारीहरुको अनिवार्य अवकाशसम्बन्धी व्यवस्था छ । सोही नियमको उपनियममा (१) मा आईजीपी, एआईजी र डीआईजीको कार्यकाल ४ वर्षको हुने उल्लेख छ ।
तर उपनियम (२) मा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बहाल रहेका सशस्त्र प्रहरी अधिकृतको पदावधि एक वर्ष थप गर्न सक्ने व्यवस्था छ । एआईजी र डीआईजीको उमेर ५६ वर्ष पुगेमा भने पदावधि बाँकी हुँदै अनिवार्य अवकाश हुनेछन् । आईजीपीको उमेर हद ५८ वर्षे छ । ३० वर्षे सेवा अवधि पूरा भएमा पनि अनिवार्य अवकाश हुने व्यवस्था छ ।