संविधान संशोधन लगायतका १४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको बैठक सम्पन्न
काठमाडौं । सरकारको नेतृत्वकर्ता गरिरहेको नेकपा एमालेले संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेको छ । संविधान संशोधन गर्नुपर्ने लगायतका १४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको बैठक सकिएको छ ।
बैठकले संविधानको समयानुकूल संशोधनको प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो ।
’संविधानका प्रगतिशील अन्तरवस्तुहरूको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरी बृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गर्दछ,’ एमालेको निर्णयमा भनिएको छ ।
बैठकले राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर बनेको एमाले र कांग्रेस संयुक्त सरकार गठनपछि राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष समेत निकालेको छ ।
‘मुख्य राजनीतिक दलहरूको नेतृत्वमा ७ दले सहभागी भएर बनेको यस सरकारसँग जनताका धेरै अपेक्षाहरू छन् । सरकारको काँधमा नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने दिशामा बलियो जग बसाल्ने ऐतिहासिक अभिभारा छ ।’ बैठकपछि गौतमले भने ।
सत्तारूढ दलहरूबिचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई बैठकले ध्यानाकर्षण गराएको छ ।