नेकपा समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमालेमा फर्किए
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमालेमा फर्किएका छन् ।
च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकबीचमै उनी एमालेमा फर्किएका हुन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूले चेपाङलाई पार्टीमा स्वागत गरे ।
नेकपा एकीकृत समाजवादीको महाधिवेशनपछि पार्टी छाडेर एमाले फर्किने चेपाङ दोस्रो केन्द्रीय सदस्य हुन् । उपचुनावअघि अर्का केन्द्रीय सदस्य जंगवहादुर शाही एमालेमा फर्किएर दैलेखको महाबु गाउँपालिका अध्यक्ष निर्वाचित भइसकेका छन् ।
संविधानसभा सदस्यसमेत रहेका मकवानपुर जिल्लाका चेपाङ नेकपा एकीकृत समाजवादी निकट आदिवासी जनजाति फाँटका सहइञ्चार्ज थिए ।